समाचार

नेपालमा चराविदले नदेखेको हङरायो

कमल मादेन -
दुर्लभ चरा सबैका निम्ति रोचक दृश्य बन्छ । चराका पछि लाग्नेहरु त्यस्ता चराको हाउभाउ र तिनको जीवनप्रकृया बुझ्नु खोजको विषय ठान्दछन् । उनीहरुका निम्ति नेपाल यस्तो देश हो, जहाँ केही दुरी यात्रा गर्ने वित्तिकै भिन्नभिन्न प्रजातिका चरा भेटिने विशेषता छ ।
 
भौगोलिक र पारिस्थितिक प्रणालीमा उल्लेखनीय विविधता भैदिँदा चरा प्रजाति बढी पाइएको हो । तर, उहिले नेपालमा पाइएका केही प्रजातिका चराहरु पाउन छाडिएको दुःखद पाटो पनि छ । चरा विज्ञका अनुसार पहिले नेपालमा पाइने आधा दर्जनभन्दा बढी चरा प्रजातिहरु हिजोआज नेपालमा पाउन छाडेको बताइन्छ ।
 
नेपालबाट लोप भएका पंक्षीहरुमा हङरायोलाई पनि गणना गरिन्छ । अर्थात हिजोआज हङरायो नेपालमा नपाइने जानकारी छ । गाउँघरमा कसैले ठूलो गाँस लगाएर खाना खायो भने बूढापाकाले अझै पनि भन्ने गरेको सुनिन्छ- ‘हङरायोले पाङ्ग्रा निलेजस्तो नगर् ।’
 
हङरायो धनेश समूहभित्रको त्यस्तो सुन्दर पक्षी हो, जस्को वर्णन जति गरे पनि कमै हुन्छ । साइज र सुन्दरताको दुष्ट्रिकोणले त्यो नेपालको वनजंगलमा वस्ने सबैभन्दा ठूलो र सुन्दर पंक्षी थियो भन्न सकिने स्थिति हो । त्यस्को चुच्चोको टुप्पोदेखि पुच्छरको टुप्पोसम्मको लम्बाईको विवरण ४ फिट भन्ने लेखिएको पाइन्छ ।
 
हुन त हङरायो भन्दा २४ इन्च लामो राजधनेश हुन्छ । राजधनेश विरलै मात्रामा पाइन्छ । त्यो पनि पूर्वी नेपालमा हिजोआज पाइएको जानकारी छैन । हङरायोको सुन्दरताको प्रसंग कोट्याउँदा भालेको टाउको, छाती र पेट रातो-कोइलो रंगमा हाम्रो राष्ट्रिय पक्षी डाँफेको घाँटी तथा गर्दनझैं सुन्दर देखिन्छ । आँखा वरिपरि डाँफेकै जस्तो नीलो र चिउँडो रातो र  पुच्छर टुप्पोतर्फ आधा अनि पखेटाको टुप्पो पनि सेतो हुन्छ । पोथीमा भने कालोपना बढी हुन्छ । चुच्चाको माथिल्लो भागमा पनि हल्का पहेंलो पृष्ठभूमिमा कालो चेप्टा धर्साहरु हुन्छ ।
संसारभर धनेशको जेजति प्रजाति भए पनि तिनीहरुको जीवन शैली करिब करिव उस्ताउस्तै हुन्छ । धनेशले रुखका पुराना टोड्का, प्वाल आदिमा गुँड बनाउँछ । धनेश जोडीले संसर्ग सिजनका पूर्ववर्ती दिनहरुमा गुँड बनाउने उपयुक्त टोड्का खोज्ने कार्यमा जुट्छ । प्रायजसो पहिले पनि बचेरा हुर्काइ सकेको टोड्का मन पराउँछ । गुँड बनाउने टोड्का निश्चित भएपछि धनेश यौनकिडामा संलग्न भएको देखिन्छ । त्यसबेला भाले धनेशले पोथीलाई बारम्बर खानेकुरा जस्तो फल ल्याइदिने त कहिले फल बेगरै पोथीको चुच्चो चलाई दिने जस्ता कृयाकलाप गर्छ भन्ने लेखिएको पाइन्छ । भाले संसर्ग अघिपछि जोडले कराउँछ ।
 
संसर्गपछि पोथीको ध्यान गुँड बनाउँने टोड्कामा केन्द्रित हुन्छ । पोथी अक्सर टोड्कामा पस्दै निस्कँदै गरेको देखिन्छ । अण्डा पार्ने समय नजिक भएपछि पोथीले प्वाल टाल्ने काम शुरु गर्छ । बाहिरको केही काम सकेपछि पोथी प्वालभित्र पस्छ । भालेले गिलोमाटो, बालुवा आदि पोथीलाई पुर्याइदिन्छ । पोथीले घाँटीमा जम्मा गरेको खानेकुरा, केही आफनै बिष्टा, आफनै प्वालका टुक्रा आदि चुच्चोले मुछेर अत्यन्त कडा पर्खाल बनाउँछ । रुफस नेक्ड हर्नबिल एप्रिल महिनामा २ वटा अण्डा पार्छ । त्यसपछिका ४ महिना पोथीको बसाई त्यही हुन्छ ।
 
पोथीका पुच्छर तथा पखेटाका लामा प्वाँख गुँडभित्रै खस्छन् र पछि बचेराको प्वाँखसँगै माउको पुच्छर पलाउँछ । बचेरा उड्न सक्ने भएपछि पोथीले टालिएको प्लाष्टर चुच्चोले भत्काई बाहिर निस्कन्छ । त्यसबेला ठूलो बचेरा पोथीसँगै निस्कन्छ । कुनै परिस्थितिमा पोथीमात्रै २,४ दिनअघि निस्कन्छ र प्वाल पोथीले अस्थाईरुपमा बाहिरबाट पहिलेजस्तै चुच्चोमात्र छिर्नेगरी टाली दिन्छ । धनेशले फल लगायत भ्यागुता, छेपारो, सर्प, मुसा आदि पनि खान्छ ।
 
हङरायोलाई अंग्रेजी शव्दावलीमा रुफस नेक्ड हर्नबिल भनिन्छ । हेमसागर बरालद्वारा अनुवादित ‘नेपालका चराहरु’ शीर्षक पुस्तकमा होमराई नाम दिइएको छ । यो पंक्तिकारले बिशेषतः ताप्लेजुङतिरका बुढापाकाले धनेशजस्तो ठूलो चरो पहिले पाइन्थ्यो भन्ने प्रशस्त सुनेको छ । त्यस्ले यस्ता फलहरु खान्थ्यो कि हिजोआज सुन्दा चराले त्यत्रो फल सर्लक्कै निल्न सक्छ भनेर कल्पना नै गर्न सकिन्न । त्यसैले होला ‘हङरायोले पाङ्ग्रा निलेजस्तो’ भन्ने नेपाली उखान बनेको । र, यसैका आधारमा त्यो चरा पक्कै रुफस नेक्ड हर्नबिल नै थियो होला भनेर त्यसलाई हङरायो भनिएको हो ।
 
नेपालमा मात्र रुफस नेक्ड हर्नबिल  लोप भएको हो । अन्य मुलुकमा भने अस्तित्वमा छ । गुगल डटकममा रुफस नेक्ड हर्नबिल टाइप गरेर प्रशस्त तस्विर भेटिन्छ । अपराजीत दत्त र रोहित नानीवाडेकरले खिचेका तस्विर चाहीं भनेसम्मको साइजमा उपलब्ध छन् । नाम्दाफा टैगर रिर्जभ अर्नाचलमा खिचिइएको तस्विरहरु सबैको मन लोभ्याउने छन् । बेलायती नागरिक ब्राइन एच. हड्सन नेपाल रहदा करिव २ वर्षअघि एक चित्रकारलाई बनाउन लगाएको तस्विर पनि सजिलै पाउन सकिन्छ । त्यस चित्रमा चित्रकारको नाम आर. स्मिथ छ ।
 
दुर्भाग्य भन्नुपर्छ, नेपालमा त्यो चरा नेपालीले देखेको बृतान्त कतै उल्लेख भएको पाइँदैन । हड्सनको बनाउन लगाएका तस्वीर हिजोआज बेलायतस्थित न्याचुरल हिष्ट्री म्युजियम लन्डनमा संग्रहित छ । नेपालका चराका चित्र बनाउन लगाउनेहरुमा बुखानन् ह्यामिल्टनको नाम छुटाए अन्याय होला । तिनी काठमाडौ रहँदा सन् १८०२-०३ ताका २ सयजति जीवजन्तु तथा वनस्पतिका चित्र बनाउँन लगाएका थिए । त्यसबेला चित्र बनाउँने व्यक्ति कोलकात्ताबाट ह्यामिल्टनसँगै आएका बाबु रमाजाई भट्टाचार्जी थिए । ह्यामिल्टनले बनाउन लगाएका चित्रहरुमा रुफस नेक्ड हर्नबिलको तस्विर छैन ।
 
चरा चित्रको सन्दर्भ उठ्दा नेपालमा चराको चित्र बनाउने पहिलो व्यक्ति को थिए होलान् भन्ने जिज्ञासा पनि उठ्ला । राजमान सिंह चराको चित्र बनाउने पहिलो नेपाली हुन् भनेर रमेश खनाल लिखित ‘इतिहासको कालखण्डमा राजमानसिंह चित्रकार’ (विस २०७१) शीर्षक पुस्तकमा उल्लेख छ । उक्त पुस्तकमा तुलसीमान चित्रकार पनि राजमान सिंहका समकालीन चित्रकार थिए भन्ने बृतान्त छ । सिंहद्वारा बनाइएका चित्रहरु ‘नेपा वंशावली’मा पनि दिइएका छन् ।
 
रुफस नेक्ड हर्नबिलको नेपालसँग अन्योन्यास्रित लिखत सम्बन्ध छ । त्यसैले नेपालमा नदेखिनु वास्तवमै दुःखद कुरा हो । त्यो संसारमा सर्वप्रथम नेपालमै भेटिएको थियो । हड्सनले विश्वको निम्ति पहिलोपटक नेपालमै भेटिएकाले त्यस्को वैज्ञानिक नाम बुसिरोस निपालेन्सिस दिए । नेपालमा पाइने एक अर्को धनेश अर्थात ग्रेट हर्नविल पनि बुसिरोस समूहको हो ।
 
रुफस नेक्ड हर्नबिल र राजधनेशको मूलतः चुच्चोको आकृति संरचनागत रुपमा फरक छ । त्यसैले हिजोआज रुफस नेक्ड हर्नबिललाई बुसिरोस निपालेन्सिसको सट्टा एसिरोस निपालेन्सिस भनिन्छ । एसिरोस समूहका धनेश नेपालमा पाइँदैन । तर, संसारभर उक्त समुहका जम्मा ५ प्रजाति छन् । धेरैजसो पूर्वी एसियामा छन् । संसारभर धनेश परिवारका ११ समूह अर्थात जिनस र ५६ जति प्रजाति सुचीकृत छ । त्यसबाहेक २ प्रजाति लोप भइसकेको जिवाशेष मोरक्को र बुल्गेरियामा पाइएको छ ।
 
रुफस नेक्ड हर्नबिल छिमेकी मुलुक भारतको नोर्थ बंगाल, सिक्किम, अर्नाचल, असाम, मिजोरोम र मेघालयमा थोरै सँख्यामा पाइन्छ । भारतबाहेक चीन, तिब्बत, भुटान, म्यानमार, थाइल्याण्ड, लावोस र भियतनाम पनि छन् । तर, बंगलादेशमा पाइन्छ वा पाइँदैन अझै यकिन भैसकेको छैन ।
 
रुफस नेक्ड हर्नबिलको संख्या भियतनाम, लावोस, थाइल्याण्ड आदि देशमा अत्याधिक घटेको तर भुटानमा भने उल्लेखीय संख्या रहेको बताइन्छ । त्यसैगरी भारतको असाम, मेघालय, मिजोरोम, मनीपुर आदि प्रान्तमा संरक्षित बाहेकका जंगलमा तिनीहरु लोप भएको आशंका छ । भारत र भुटानले त्यसप्रति यथेष्ठ चासो दिएका छन् । थाइल्याण्डमा दशकौं लामो अनुसन्धान नै भको छ ।
 
यता नेपालबाटरुफस नेक्ड हर्नबिल लोप हुनु वर्तमानमा चासोको विषय बन्न पाएको छैन । भविष्यमा त्यसको बारेमा चर्चा, परिचर्चा होला । त्यसबाट पर्यावरणमा के कस्तो असर पर्यो, अध्ययन होला ।
 
अहिलेलाई त्यसले हाम्रो वन पहिलेको तुलनामा अत्याधिक विनास भयो है भन्ने त स्पष्ट छदैछ । अर्को कुरो, वन विनासले समस्त प्राणी जगतको निम्ति वातावरण प्रतिकुल बन्दैछ भन्ने एक सन्देस पनि हो ।
 
वासस्थानमा कमी र शिकारी गतिविधिका कारण अक्सर वन्यजन्तु लोप हुन्छन् । रुफस नेक्ड हर्नबिलका लागि दुवै भए भन्नु अन्यथा हुँदैन ।
 
रुफस नेक्ड हर्नबिलको नेपाल सम्बन्धी कुन्डली खोज्दै गए अचम्को तथ्यांक भेटिन्छ ।
हड्सनले संकलन गरेको नमुना सन् १८२९ मा जानकारीमा आएको हो । एन.जे. कोलार अरुहरु सम्पादित ‘थ्रेटेन्ड बर्डस अफ एसिया’ (सन् २००१) शीर्षक पुस्तकमा उल्लेख भए अनुसार नेपालबाट एक अर्को नमुना फ्रयान्क (फ्रयान्क बेइली ?) भन्ने व्यक्तिले सन् १८५० मा संकलन गरेका थिए । त्यो बेल्जियमस्थित आई.आर.एस.एन.बि. संग्राहालयमा छ । त्यस नमुनामा संकलित देश निपाउल र संकलन महिना प्रि-मे भन्ने लेखिएको छ । नेपालको कुन भूभागबाट संकलन गरिएको भन्ने स्पष्ट छैन ।
 
नेपालबाटै संकलन गरिएका अन्य नमुनाहरु नेदरल्याण्ड र अस्ट्रियाका क्रमशः आर.एम.एन.एच. र एन.एच.एम.डब्लु. संग्राहालयमा रहेको जानकारी एन.जे. कोलार अरुहरु सम्पादित पुस्तकमै उल्लेख छ । बेलायतका चरा विद हर्बर्ट स्टेवेन्सले सन् १९२२ मा हङरायोको गुँड नेपालमा पाउन सकिने कुरा उल्लेख गरेका थिए । तिनले पश्चिम चीनमा धेरै वर्ष र केही समय भारतस्थित दार्जिलिङमा बसेर चरा अध्ययन गरे ।
 
नेपाली चरा विज्ञले नेपालबाट वास्तवमै रुफस नेक्ड हर्नबिल लोप भयो या अझै छ भन्ने बारेमा चासो लिइएको पाइँदैन । अचम्मलाग्दो स्थिति भन्नुपर्छ, चरा खोज अनुसन्धानमा लाग्नेहरु त्यसबारे मौन बसेका छन् । बरु वनस्पतिशास्त्री जेडी हूकरले पूर्वी नेपालको सीमानाबाट ओलाङचुङगोलातर्फ जानेक्रममा इलामको एक जंगलमा  सन् १८४८ को नोभेम्वर महिनामा प्रशस्त संख्यामा यो चरा देखेको बृतान्त वनस्पतिविद तीर्थबहादुर श्रेष्ठले हिमालखबर पत्रिकामा विस २०५७ सालमा लेखे ।
 
श्रेष्ठले हिजोआज पनि प्रवचन कार्यक्रमहरुमा उक्त चराका बारेमा उल्लेख गर्न छुटाउँदैनन् । श्रेष्ठले हालै मार्टिन चौतारीले आयोजना गरेको ‘नेपालको जैविक भूगोल’ शीर्षक एक प्रवचन कार्यक्रममा (असोज २०७३) पनि यसबारे चर्चा गरेका थिए ।
 
डिपान्कर घोष र अरुहरुको ‘इन्डियन बर्डस’ शीर्षक जर्नलको भोलम २ अंक २ (मार्च-अप्रिल २००६) मा रुफस नेक्ड हर्नबिल सम्बन्धी छोटो लेख छ । उक्त लेखमा जनाइए अनुसार उत्तर बंगालको सिलिगुढी नजिक पर्ने महानन्द वाईल्डलाईफ स्याङचुरीमा रुफस नेक्ड हनैबिल १० वर्षअघि देखिएको थियो । उक्त स्थान नेपाल सिमाबाट लगभग १५ किलोमिटर हवाई दुरीमा छ । त्यसयता भारतीय चरा विज्ञ तथा चरा फोटोग्राफीमा ध्याउन्न राख्नेहरुले उक्त स्याङचुरी तथा डार्जिलिङ जिल्लाको अन्य भूभागमा पाइएको जिकिर विभिन्न विधुतीय सञ्जालहरुमा उल्लेख गरेका छन् ।
 
मध्य अफ्रिकामा एक अर्को धनेश प्रजाति २ सय ९० किलोमिटर टाढासम्म आवत– जावत गर्ने गरेको एक बृतान्त पढ्न पाइन्छ । त्यसलाई आधार मान्ने हो उत्तर बंगालस्थित महानन्द वाईल्डलाईफ स्याङचुरीमा रुफस नेक्ड हर्नबिल पाइयो भने अवश्य पूर्वी  नेपालमा पनि पाइन्छ ।
 
भारतमा नाम्दाफा नेशनल पार्क अरुणाचल, मानस नेशनल पार्क आसाम, बुक्सा टाइगर रिजर्भ नर्थ बंगाल लगायत अन्य ५ जति नेशनल पार्कमा पाइन्छ । रुफस नेक्ड हर्नबिल समुद्री सतहबाट ३ हजार मिटर भू-सतहको उचाइसम्म पाइन्छ ।
 
विभिन्न देशमा रुफस नेक्ड हर्नबिललाई त्यस्को वासस्थान र त्यहाँ पाइने संख्याका आधारमा अतिसंवेदनशील (भुल्नेरेबल) समूहमा सुचीकृत गर्ने गरिएको छ । त्यसको अर्थ रुफस नेक्ड हर्नबिलेको संख्या लोपोन्मुखतर्फ जान सक्ने स्थिति छ भन्ने हो । नेपालमा चाहिँ लोप नै भयो भनेर सी इन्स्किप र टी इन्स्किपद्वयको सन् १९८५ मा प्रकाशित ‘ए गाइड टु द बर्डस् अफ नेपाल’ शीर्षक पुस्तकमा पहिलो पटक लेखिएको थियो ।
 
त्यसयता प्रकाशन भएका चरा सम्बन्धि सामग्रीमा नेपालबाट रुफस नेक्ड हर्नबिल लोप भयो भन्ने वाक्य सार्ने गरिएको छ । विदेशीले त लेखे । नेपाली चराविज्ञले अध्ययन अनुसन्धान गर्नु पर्ने हो । तर, इन्स्किपद्वयको कथनलाई स्वासत सत्य मानिएको छ ।
 
अपराजित दत्तले भारतमा बिशेषत रुफस नेक्ड हर्नबिल संरक्षणमा पुर्याएको योगदानलाई कदर गर्दै बेलायतस्थित ‘वाईट्ली फन फोर नेचर‘बाट ‘ग्रिन ओस्कार’ नामक पुरस्कार सन २०१३ मा पाइन् ।
 
सरीसृप संरक्षणमा लागेका रोमुलस विट्टेकरले पनि उक्त पुरस्कार सन २००५ मा पाएका थिए । उक्त पुरस्कार रासी ३५ हजार पाउण्डको हो । विट्टेकर संसारभर चिनिएका वैज्ञानिक हुन् । तर, अपराजित दत्तलाई भने रुफस नेक्ड हर्नबिलकै कारण संसार भर चिनिइन् । भुटान, भियतनाम र थाइल्याण्डले हुलाक टिकटमा रुफस नेक्ड हर्नबिलको तस्विर छापेका छन् । यता नेपालले भने राजधनेशको तस्वीर वि.सं. ०३४ सालमा ५ रुपैयाँको हुलाक टिकटमा छापेको थियो ।
नेपालका केही चरा प्रजातिहरु ललितपुरस्थित जावलाखेलको केन्द्रीय जन्तु चिडियाखानामा राखिएका छन् । रुफस नेक्ड हर्नबिल पनि  त्यहाँ राख्न सके वेसै हुन्थ्यो । किनभने नेपालीले त्यस्तो धनेश नेपालमा थियो र अझै पनि हुन सक्छ भनेर थाहै पाएका छैनन् ।
 
नेपाली त अहिलेसम्म विदेशबाट आयात गरिएका अष्ट्रिच, इमु जस्ता पक्षी हेर्न मात्र रमाइरहेका छन । बाहुनडाँगी, जिरमाले, कन्यामदेखि फलैंचा याम्फुदिनसम्मका दर्शकले उक्त धनेश चिडियाघरमा देखे, त्यो पूर्वीनेपालमा अझै छ, छैन आफै जानकारी थपिने थियो ।
 
धनेश पूर्वी नेपाल विशेषत इलाम, पाँचथर र ताप्लेजुङमा पाउन सकिने संभावना छ । पूर्वाञ्चलमा यात्रा राई थुलुङ डेडदुई दशक यता चरा फोटोग्राफी ध्याउन्नमा लिप्त छन् । थुलुङले काँधमा बोक्ने आठ सय एम.एम.को टेलिलेन्सद्वारा पूर्वी नेपालमा पाइने धेरैजसो चराहरु क्यामेरामा कैद गरिसकेका छन । उनको रुफस नेक्ड हर्नबिलको तस्बिर कैद गर्ने मिसन पनि छ । थाहा छैन, उनले त्यो मिसन नेपालकै वनजंगलबाटै वा महानन्द वाईल्डलाईफ स्याङचुरी नै पुगेर पूरा गर्लान् ?