समाचार

रोकिएन सानै उमेरमा हुने ‘विवाह’ ‘सानो उमेरमा विवाह गर्नु हुदैन भनेर धेरै भनेपनि रोक्न सकिएको छैन ।’

 
सागर रिजाल / प्यूठान गिरीराज कार्की, अहिले ३७ वर्षका भए । गौमुखी गाउँपालीका वडा नं. ३ वस्ने उनलाई आफ्नो विवाह गरेको भर्खर जस्तै लाग्छ । २२ वर्षको उमेरमा विवाह गर्दा उनकी श्रीमती सीता कुमारी खड्का १६ वर्षकी थिइन् ।
दम्पत्तिले तामझामका साथ मागि विवाह गरेका हुन् । यद्यपी प्रेम सम्वन्धलाई उनीहरुले मागि विवाहमा परिणत गरेका हुन् । विवाह गरेको बर्ष दिनमै उनले सन्तान जन्माए । १७ वर्षको उमेरमा आमा बनेकी सीतामा अहिले स्वास्थ्य समस्या देखा पर्न थालेको छ । तल्लोपेट दुख्ने, कमजोरी महसुस हुने, महिनावारी अनियमित हुने र महिनावारीको समयमा समस्या जस्ता समस्या देखिएका हुन् । उमेरमा पढ्न नपाएका कारण जीवनका आधारभुत लेखपढ समेत आउदैन सितालाई ।
१८ वर्षकि पुना पुनमगर र १७ वर्षका ओम वहादुर पुन वीच विवाह भयो । १२ वर्षको संयुक्त जीवनमा सन्तान नजन्मिएपछी ओमले आशादेवीसंग २९ वर्षको उमेरमा दोश्रो विवाह गरे । पुनः सन्तान्तको आसा पुरा नभएपछि ओमले चौथो पटकसम्म विवाह गरे । तर, बच्चा नहुनुको कारण कहिल्यौं खोजेनन् । 
बैवाहिक जीवन नटिक्नुमा बालावस्थामै भएको विवाहलाई उनी कारण मान्दछन् । सानै उमेरमा विवाह गर्ने र पढ्न छोडेर रोजगारका लागि भारत जाने कारणले गाँऊमा कसैले ७–८ कक्षा भन्दा बढि पढेनन् । पहिलेको श्रीमतीको स्वास्थ्यमा आएको समस्याकै कारण अर्को विवाह गर्नुपर्यो ।
गौमुखि गाउँपालीका –३ (साविकको रजवारा गा.वि.स.)का यि दुई सामान्य प्रतिनिधी घटनाहरु हुन् । सानै उमेरमा विवाह गर्ने त्यहाँको प्रचलन हो । ‘लाहुरे’ पेशालाई अत्यन्तै सम्मानित मानिने यस क्षेत्रमा अहिलेपनि वालविवाह रोकिएको छैन । स्थानीयका अनुसार मंसिर ०७५ मा मात्र १० जोडिले कम उमेरमै विवाह गरेका छन् ।
वालविवाह विरुद्धका अभियान चले पनि ग्रामीण क्षेत्रमा यसको प्रभाव देखिएको छैन् । जनजाती समुदायमा मामाको छोरी र फुपुको छोराविच विवाह गर्ने प्रचलन छ । कतिपयले वच्चा जन्मने वित्तिकै जोडि बनाइदिने गर्छन् । स्थानीय गोवद्र्धन थापाले भने, ‘हाम्रो रजवारामा डाल थाप्ने चलन थ्यो । छोरी जन्मेमा दिदीलाई वोलाएर डाल थापिन्थ्यो । यसरी जोडिएको विवाह पछी टुटन पनि सक्थ्यो ।’ (सन्तान सानो छदै वा–आमाले छिन्ने विहेलाई यहाँ डाल थाप्ने भनिन्छ)
थापाले थपे, ‘वा–आमाले विहे छिने सानैमा विहे गर्थे । त्यसो नभए छिप्पेर पनि विहे गर्थे । यहांका वाहुन, ठकुरी सबैको चलन भने नछुने नहुदै (महिनावारी नहुदै) छोरीको विहे गर्देमा धर्म हुन्छ भन्ने चलन थ्यो । छोईछिटोको कारण र डाल थापेको कारण सानैमा विहे नभएमा ठुलो भएर विहे गर्थे । तर, आफै विहे गर्ने चांहि खासै हुदैनथे ।’
‘समय फेरिएको छ आफुआफुमा फोन गर्छन । मायाप्रेम गर्छन र आफै विहे गर्छन ।’ ,रजवाराका ७६ वर्षिय हेम वहादुर सेन भन्छन्, ‘भेट नभएका हरु पनि मोवाईलमा कुरा गर्छन । घर नआएर वाटोवाटै पोईल जान्छन÷लान्छन् ।’ 
बालविवाह विरुद्धका अभियानहरुले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसकेको स्थानीय पत्रकार जोगिन्द्र मल्ल बताउँछन् । गोठ वस्ने परम्परा, गरिवी र सामाजिक चेतनाको अभावमा सानै उमेरमा विवाह हुने गरेको छ । उमेर पुग्दा सन्तान जन्मिसकेका हुन्छन् ।
गौमुखी गाँऊपालिका वडा नं. ३ रजवाराका वडा अध्यक्ष जंग वहादुर पुन सानो उमेरमा विवाह गर्नु हुदैन भनेर धेरै भनेपनि रोक्न नसकिएको उल्लेख गरे । चुनौतीका रुपमा टेलिफोन र सामाजिक सञ्जाल देखिएको उनको अनुभव छ । ‘चिन्दै नचिनेका केटाकेटीले पनि फोन र फेसवुकमा प्रेम गरेर विवाह गर्ने गरेका छन् ।’ ,उनले भने, ‘अभिभावकले पत्तै पाउँदैनन् ।’ किसोर किसोरीले टेलिफोन मात्र होईन सामाजिक सञ्जालको समेत प्रयोग गर्ने गर्दछन् ।
अरु पनि छन् कारण ः
फोनको कारण मात्र होईन रजवारामा गोठ वस्ने चलनले पनि वालविवाह हुने गरेको स्थानीय वताउछन् । अभिभावकको नजरले नभेट्ने ठाँउमा गोठ हुन्छन ्। गाईवस्तु सहित गोठ वस्ने चलन छ । जंगलमा गोठालो जाने गर्दछन् । त्यहिं भएको सम्वन्ध छोटो समयमै विवाहमा परिणत हुने गर्दछ । 
दोश्रो गरिविका कारण पनि रजवारामा वालविवाह हुने गरेको छ । १६ वर्षकी एक किशोरी भनिछन्, ‘बाटोमा भेट भएकै कारण गाँऊभर हल्ला चलेछ, विहे गर्न बाध्य बनाए ।’
जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा यसवर्ष आ.व. २०७५÷०७६ मा जिल्लाभरमा ५ वटा वालविवाह भएका छन् । जसमध्ये २ वटा अन्तरजातिय विवाह छन् । आ.व. २०७४÷०७५ मा १२ वटा मुद्धा प्रहरीमा पुगेको थियो । भने २०७३÷०७४ मा दुईओटा घटनामात्रै जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।
वालविवाह कानुनतह अपराध हो ।  वालविवाह गर्नेलाई कानुनमा ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था भएको अधिवक्ता मेघराज भट्टले बताए । जिल्लामा वालविवाह गर्नेलाई प्रहरीले मुद्धा नचलाएको पनि होईन । तर, दुर्गम क्षेत्रमा वालविवाह रोकिएको छैन । यसका पछाडिका कारणहरु जनचेतना, सामाजिक वातावरण, आर्थिक अवस्थासंगै किसोर किसोरीलाई अविभावकले सचेततापुर्वक रेखदेख र परिचालन गर्न नसक्नु पनि हो । प्रहरी प्रशासन र अभियन्ताहरुको ध्यान पनि दुरदराजमा पुग्न सकेको छैन ।
जिल्ला वालसञ्जालले जिल्लामा वालविवाह न्युनिकरणका लागि अभियान चलाउने मात्र होईन विवाह रोक्नेसम्मको काम गरेको छ । तर त्यो काम दुरदराजमा पुगेको छैन । जिल्ला वाल सञ्जालका अध्यक्ष प्रेमवहादुर विश्वकर्माले भने, ‘जिल्लामा थुप्रै वालविवाह रोक्यौं तर, दुर्गममा प्रभावकारी अभियान चलाउन सकेका छैनौं ।’ दुर्गममा वाल क्लव पनि सक्रिय छैनन् ।
सानै उमेरमा विवाह गर्नाले महिला र उनवाट जन्मने वच्चाको स्वास्थ्य, परिवार र सामाजिक पहुंचमा प्रतिकुल असर पर्ने जानकारहरु वताउछन् । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार जिल्लामा वाल विवाहको कारण आमा र वच्चाको स्वास्थ्यमा समस्या आएका घटना दुर्गम क्षेत्रमा धेरै छन् । वालविवाह न्युनिकरणका लागि सरकार र सरोकारवाला निकायले लाखौं रुपैया खर्च गरेपनि त्यो लगानि दुर्गम वस्तीमा नपुग्दा वालुवामा पानि भएजस्तै भएको छ । यसकारण दुर्गम क्षेत्रमा वालविवाह न्युनिकरणका लागि स्थानिय सरकारमा निर्वाचित जनप्रतिनिधीहरुको नेतृत्वमा अभियान चलाउनुका साथै वालविवाहका प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरु पहिचान गरि त्यसको समाधानमा ध्यान दिनु जरुरी छ । सौजन्य : बाल सरोकार फिचर सेवा, एफएनजे, प्यूठान
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal