समाचार

कृषि र पशुपालन क्षेत्रमा लाग्न नगरवासीलाई उपमेयर थापाको आग्रह

 
नेपालगन्ज : आइतबार २३ मंशिर २०७५ /  नेपालगन्ज उपमहानगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा काम गर्न चाहाने सर्वसाधारणका लागि ल्याएको कार्यक्रमको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । उपमेयर उमा थापामगरले कृषकहरुको हितमा ध्यान दिदै कृषि र पशुपालनका क्षेत्रमा ल्याईएका कार्यक्रमहरुमा सहभागि हुन र उद्यम क्षेत्रमा लाग्न नगरवासीलाई आग्रह गरेकी छन् ।
निर्धन उत्थान लद्युबित्त संस्था लिमिटेड, परसपुरको आयोजना आईतबार बिहान नेपालगन्जमा आयोजना गरेको व्यवसायिक कुखुरापालन तालिमको उद्घाटन गर्दै उपमेयर थापाले कृषि र पशुपालनको क्षेत्रमा धेरै योजनाहरु ल्याईएको बताईन । ‘पहिले स्थानीय निकायले विकासको मात्र काम गर्थे । अहिले संरचना पुरै फेरिएको छ । स्थानीय तहले नै शाखाहरु स्थापना गरेर पशु, कृषि जस्ता क्षेत्रलाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु ल्याएका छन् ।’ उपमेयर थापाले भनिन्—‘नेपालगन्ज उपमहानगरले पनि यस्ता कार्यक्रम ल्याएको छ । यसको भरपुर सदुपयोग गर्न आग्रह  गर्छु ।’
उपमेयर थापाले शाखाहरु भर्खर स्थापना भएकाले योजनाहरु सफल बनाउन हरेक नागरिकहरुको सहयोगको अपेक्षा गरिएको बताईन । ‘हामी अझै सिकाईकै क्रममा छौं । हरेक नागरिकले सहयोग गर्नुभयो भने तपाई हामीले खोजेको नतिजा पाउँछौ ।’— उनले भनिन् । स्थानीय तहसंग कृषकहरुको सिधा पहुँच भए मात्र कार्यक्रमहरुको सही सदुपयोग हुने उपमेयर थापाले बताईन । भारतीय कुखुराको आयातका बिषयमा महिला कृषकहरुले राखेको गुनासाको बिषयमा बोल्दै उपमेयर थापाले प्रशासनिक र सुरक्षा निकायले भारतीय कुखुराको अवैध आयात रोक्न आग्रह गरिएको बताईन ।
निर्धन उत्थान लद्युबित्तले आयोजना गरेको कार्यक्रममा महिला कृषक अनु थापाले भारतीय कुखुराको अवैध आयातले आफुहरुको व्यवसाय धरासायी बनेको बताएकी थिईन । महिलाहरुलाई व्यवसायिक कुखुरापालन सिकाउनका लागि तालिम सन्चालन गरिएको निर्धन परसपुर शाखाका प्रमुख टोपबहादुर रासकोटीले बताए । सो अवसरमा निर्धनबाट ब्याज लिई बिमा गराएकी फुलकुमारी काँदुको निधन भएपछि उनको बिमा रकम श्रीमान रामकिसनलाई प्रदान गरियो । निर्धनका क्षेत्रीय कार्यक्रम अधिकृत प्रेम सुवेदीले ग्रामिणक्षेत्रमा स्वरोजगार बनाउन निर्धनको महत्वपूर्ण भुमिका रहेको बताए ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal