समाचार

देउवाको नेतृत्व असफल भईसक्यो : नेता कोईराला

 
नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाउनुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सभापति देउवाकै कारण काँग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिनुभयो । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने कोईरालाको भनाई थियो । पछिल्लो समय काँग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै नेता कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको गुनासो गर्नुभयो । अब महासमितिको बैठक बसेर काँग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा कोईरालाको जोड थियो । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्ने उहाँको भनाई छ । त्यस्तै अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारीरुपमा निभाउन नसकेको उहाँले बताउनुभयो । पार्टी भित्रका सबै समस्या समाधान गर्नसक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको कोईरालाको भनाई छ ।

पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा पराजय : काँग्रेस नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो । पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । भोलीदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताउनुभयो । सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना धारणा राख्ने र यसले पार्टीलाई भविश्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal