समाचार

‘विकासका लागि आफू मन्त्री हुनैपर्ने जरुरी छैन ’ : इश्तियाक राई

 

नेपालगंज : सोमबार २५ मंसिर २०७४ / बाँके क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जातियता र धार्मिक नारा लगाएर राजनीति गर्ने दिनको अन्त्य हुने बताएका छन् । जितपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले अब बाँकेमा जाति र साम्प्रदायिकता भन्दा माथि उठेर राजनीति गर्ने र विकासको काममा समर्पित हुने नेताको खाँचो रहेको पनि बताउनु भयो । ‘मैले हरेक जातजाति, धर्म र सम्प्रदायको भोट पाएर जितेको छु, एउटा कुनै समुदाय विशेषबाट आएको भएपनि म त्यो दायरा भन्दा सधैंँ माथि नै छु’ राईले भने ‘म त्यस्तो साँघुरो मानसिकताबाट राजनीति पनि गर्दिनँ र, अरुलाई पनि साम्प्रदायिकताको दायराभन्दा माथि उठेर राजनीति गर्न अनुरोध गर्दछु ।’बाँकेका लागि आफूले गरेका प्रतिवद्धताहरु नभुल्ने र आगामी पाँच वर्षमा त्यसको नतिजा देखिनेगरी काम गर्ने बताउंदै  नेपालगन्ज र समग्र बाँकेलाई सद्भावपूर्ण बनाउनका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने जिकिर गर्नु भयो । आफुलाई समग्र नेपालगन्जमा बसोबास गर्ने जातजाति र विभिन्न धर्म सम्प्रदायका सबै मतदाताले विश्वास गरे जिताएको भन्दै सबैको साझा प्रतिनिधिकोे अनुभुति सबै मतदातालाई गराउने विश्वास व्यक्त गर्नु भयो । जितपछि पनि मतदातासँग शुभकामना लिन अनि पुनः विकास र संमृद्धिका बाचा गर्नका लागि घरदैलो अभियान सुरु गर्न थालेका राईले निर्वाचनका बेला आफूले गरेका प्रतिवद्धताहरुलाई पाँच वर्षभित्र नै पूरा गर्ने बताउनु भयो । राईले नेपालगन्जको विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाएर, यहाँबाट विभिन्न तीर्थयात्रा तथा पर्यटकीय घुम्न जाने पर्यटकहरुलाई केही दिन नेपालगन्जमै ‘होल्ड’ गर्ने योजनाका लागि आफूले पहल गर्ने बताउनु भयो । नेपालगन्ज शहरलाई पश्चिम क्षेत्रलाई नै नमूना बनाउन सबैको सहयोग लिएर अगाडि बढ्ने राईको भनाइ थियो । पार्टीका एजेण्डामा टेकेर नेपालगन्जको विकास र समृद्धिकाल लागि पाँच वर्षको अवधिमा आफुबाट हुने सम्पूर्ण प्रयास गर्नेमा कटिबद्ध रहेको राइले दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयमा विशेष योजना बनाउने समेत बताएका छन् ।  त्यस्तै नेपालगन्जलाई डुबानमुक्त बनाउने तथा डुडुवामा नदी नियन्त्रणको दिगो योजनाका लागि आफू लागिपर्ने पनि उनले प्रतिवद्धता दोहोराएका छन् । ‘अनि नेपालगन्जमा विश्वविद्यालय, सरकारी मेडिकल कलेजको स्थापना, यहाँका मन्दिर, मस्जिद तथा चर्च, गुम्बाजस्ता पौराणिक सम्पत्तिहरुको संरक्षण र सम्वद्र्धन लगायत महत्वपूर्ण कामहरु पनि मेरा प्राथमिकतामा छन्’ उनले भने ‘म जनप्रतिनिधि भइसकेँ, जनताले मलाई विश्वास गरेका छन्, सरकारले पनि जनप्रतिनिधिको आवाज अवश्य सुन्नेछ ।’ विकास गर्नका लागि सरकारमा जानैपर्ने कुरालाई इन्कार गर्दै उनले सरकारमा गए पनि प्रतिपक्षमा रहेपनि यहाँको विकासका लागि आफ्नो पहल उत्तिकै मजवुत रहने बताउनु भयो । ‘हुन त राजनीतिमा असम्भव र निश्चित भन्ने केही हुँदैन, हामी सरकारमा गए पनि नगएपनि जनप्रतिनिधिका हैसियतमा म सरकारका सबै निकायसँग यहाँको विकास र संमृद्धिका लागि बलियो पहल गर्नेछु’ उनले भने ‘विकासका लागि पार्टी सरकारमा जानैपर्ने र आफू पनि मन्त्री हुनैपर्ने जरुरी छैन ।’ उनले आफू र आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउनका सहयोग गर्ने सम्पूर्ण मतदाताहरु, शुभेच्छुक तथा सहयोगीहरु सबैलाई धन्यवाद पनि दिनु भयो । ‘सबै समुदायले मलाई सहयोग गरेका छन्, यो सहयोगका लागि म सधैँ ऋणी हुनेछु, त्यसको गुण मैले यहाँको विकास गरेर तिर्ने नै छु’ राईले भने ‘र, आगामी दिनमा पनि यस्तै सहयोग अनि सुझावहरुको अपेक्षा गर्दछु ।’