समाचार

निर्वाचन सुरक्षामा देखिएको चुनौति गम्भीर : प्रमूख निर्वाचन आयुक्त यादव

 

आइतबार ०३ कार्तिक २०७४ / प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक देखिएको सुरक्षा चुनौतीले सबैलाई गम्भीर तुल्याएको बताउनुभएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आयोजित प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढेको बताउनुभयो । नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको भन्दै यादवले राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई सुझाव दिनुभयो । शहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै उहाँले सूक्ष्म र गहन रुपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न आग्रह पनि गर्नुभयो ।