समाचार

प्रचण्डका छोरा प्रकाशको आकस्मिक हृदयघातका कारण मृत्यु

 
आइतबार ०३ कार्तिक २०७४ / पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार आज अन्त्येष्टि गरिएको छ । छोरा प्रकाशलाई प्रचण्डले दागबत्ति  दिनु भएको हो । दिवंगत प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण पिताले दागबत्ती दिनु परेको हो । प्रकाशका दुई श्रीमतीबाट दुई छोराहरु छन् । ब्रतबन्ध नभएका छोराले दागबत्ती दिन नपाउने हिन्दू परम्परा छ । दागबत्ति दिनुअघि पनि आर्यघाटमा बिभिन्न नेता तथा बिशिष्ट अधिकारीले प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रकाशको पार्थिव शरिरलाई दिउँसो साढे एकदेखि साढे तीन बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पार्टी कार्यालयमा अध्यक्ष तथा पिता प्रचण्डले भावुक हुँदै प्रकाशको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनु भएको थियो । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली अर्पण गरेका थिए । प्रकाशको आज बिहान निधन भएको थियो । 
यसैबीच नर्भिक अस्पतालले पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशलाई मृत अवस्थामा अस्पताल पु¥याइएको जनाएको छ । दिउँसो पत्रकार सम्म्ेलन गर्दै अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै उहाँको मृत्यु भइसकेको जनाएको हो । प्रकाशलाई आज बिहान ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पु¥याइएको थियो । ‘यहाँ ल्याइर्पुयाउँदा शरीर चिसो र कडा भइसकेको थियो । कम्तिमा पनि ३ घन्टा अगाडि मृत्यु भइसकेको थियो,’ नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टले भन्नुभयो,’ अवस्था हेर्दा आकस्मिक हृदयघात भएको देखिन्छ ।’ डाक्टर भट्टका अनुसार प्रकाशलाई दुई जना सुरक्षा गार्डले अस्पताल ल्याएका थिए । बिहान ६ बजे अस्पतालले प्रकाशलाई मृत ठहर गरे पनि दिउँसो मात्र पत्रकार सम्मेलन गरेर अस्पतालले जानकारी गराएको थियो ।