समाचार

समाचारप्रति वाम गठबन्धनको आपत्ती (विज्ञप्तीसहित)

 

नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटी, बाँकेले स्थानीय एक सञ्चारमाध्यममा वाम गठबन्धनको चन्दा आतंक र आर्थिक सहयोग रकम रक्सी र भोजभतेर शीर्षकको समाचार आएपछि त्यसको खण्डन गरेको छ । वाम गठबन्धन निर्वाचन परिचालन कमिटी, बाँकेका संयोजक दिनेशचन्द्र यादव र सह–संयोजक प्रकाश सुवेदीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बाँकेबाट प्रकाशित सद्भाव राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारप्रति हाम्रो घोर भत्र्सना र आपत्ती रहेको छ ।’ ‘हाम्रा उम्मेद्वारहरु आर्थिक, सामाजिक, राजनीतिक र पारदर्शिताका हिसाबले अब्बल छन् । कहीँकतै गिद्दे दृष्टिबाट भएका दुष्प्रचार र अनर्गल अफवाहका पक्षमा नपर्न आम बाँकेबासी नागरिकलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘हामीले वाम गठबन्धनसँग आवद्ध शुभेच्छुक, व्यक्ति तथा प्रतिष्ठानसँग निर्वाचन परिचालनका लागि सहयोगको अपेक्षासहितको अनुरोध गरेका हौँ । यो आम नागरिकलाई नभएर आस्थाका आधारमा गरिएको अनुरोध हो ।’ विज्ञप्तीमा पत्रिकामा प्रकाशित भएजस्तो चन्दा आतंक कहीँ कतै भएको वा गरेको प्रमाण भएमा स प्रमाण प्रकाशन गर्न अनुरोध गरिएको छ । ‘प्राप्त सहयोगलाई पारदर्शी बनाउने कुरा सोही पत्रमा समेत उल्लेख गरिएको थियो । यसलाई चन्दा आतंक मान्नु र पत्रमा हस्ताक्षर व्यक्तिहरुका विचारसमेत नबुझेर एकपक्षीय मनगढन्ते तथा पत्रकारिताको धर्म बाहिर गएर समाचार तयार पार्ने कार्यप्रति हाम्रो गम्भीर आपत्ती रहेको छ । विज्ञप्तीमा आर्थिक सहयोगको रकम रक्सी र भोजभतेर शीर्षकको समाचार एकहोरो, एकपक्षीय र आवेगका भरमा छापिएको भन्दै प्रकाशित समाचारप्रति हाम्रो घोर भत्र्सना र आपत्ती रहेको जनाइएको छ ।

 

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal