समाचार

एमालेद्वारा उम्मेदवारको सुरक्षा व्यवस्था गर्न माग

 
बुधबार २९ कार्तिक २०७४ / नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्षित गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको भन्दै उम्मेदवारहरूलाई सुरक्षा दिन माग गरेको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो । कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर– १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी– ३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ । चुनावी अभियानमा अवरोध पु¥याउन भएको आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा भनिएको छ ।