समाचार

लोकतान्त्रिक गठबन्धनलाई जुनसुकै हालतमा जिताउनुपर्ने : प्रधानमन्त्री देउवा

 

नेपालगंज : बुधबार २९ कार्तिक २०७४ / बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाबीच आज बिहान छलफल भएको छ । सुरक्षा गोष्ठी उद्घाटन गर्न तथा लोकतान्त्रिक गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन हिजो  बाँके आउनु भएका प्रधानमन्त्री देउवाले राणासंगको भेटघाटमा बाँकेका तीन वटै प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रमा नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन सक्रिय हुनुपर्ने बताउनु भयो । अचानक नेकपा एमाले र माओबादी केन्द्रबीच वाम गठबन्धन बनेको र चुनावपछि पार्टी एकता गरेर मुलुकमा एक दलीय कम्यूनिष्ट साम्यवादी शासन ल्याउने अभिव्यक्ति दिएकाले मुलुक अत्यन्तै संकटको घडीमा रहेको उहाँले बताउनु भयो । सभापति देउवाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको निम्ति यो चुनावमा मात्र नभएर आगामी दिनमा पनि सहकार्य हुने भएकाले लोकतान्त्रिक गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउन काँग्रेस र राप्रपाका कार्यकर्ता एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । जवाफमा राप्रपा महामन्त्री राणाले बाँकेका सबै क्षेत्रमा काँग्रेस र राप्रपाबीच संयुक्त प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम भइरहेको बताउनुभयो । करिब आधा घण्टा जति भएको भेटमा लोकतान्त्रिक गठबन्धनलाई जुनसुकै हालतमा जिताउनुपर्ने विषयमा काँग्रेस सभापति देउवा र राणा बीच गहन छलफल भएको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताउनुभयो ।