समाचार

उम्मेदवार माथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटि : प्रधानमन्त्री देउवा

 
नेपालगंज : मंगलबार २८ कार्तिक २०७४ / प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार माथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा निकाय थप चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालगञ्जमा आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकार लगायत निर्वाचन सँग सम्बद्ध विषय माथि कसैले चुनौती दिन खोजे त्यस्ता व्यक्ति र समूहलाई कानूनको दायरामा ल्याउन सरकार पछि नहट्ने बताउनु भयो । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई योजनाबद्ध रुपमा सुदृढ बनाएको बताउँदै प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने दायित्व सरकारको भएकाले यसमा सबैले साथ दिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले नागरिकको मताधिकारको रक्षाका लागि सरकार  प्रतिवद्ध रहेको पनि दोहोर्याउनु भयो । प्रधानमन्त्रीले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको भन्दै चुनावमा खतरा पु¥याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्न निर्देशन दिनुभयो । उहाँले उम्मेदवार र मतदाताको सुरक्षामा विषेश ध्यान दिन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो । 
गृहसचिव मोहनकृष्ण सापकोटाले उम्मेदवारहरुमाथी कुनै पनि खालको घटना हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए पनि बारम्बार घटना भइरहेको भन्दै जिल्लास्तरमा सुरक्षा योजनाको कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो । कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सुधिर शाह, नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका  बलाधिकृत रथी बलराम थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मी लगायतको सहभागिता रहेको छ । गृह मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता नारायण प्रसाद शर्माका अनुसार कार्यक्रममा साविक मध्यपश्चिमका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको छ ।

 

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal