समाचार

विकास र समृद्धिका लागि वाम गठबन्धन : एमाले उपाध्यक्ष गौतम

 

बर्दिया : शनिबार २५ कार्तिक २०७४ / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको विकास र समृद्धिका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताउनु भएको छ । गुलरिया नगरपालिकाको वडा नं ११ र १२ मा आयोजित वडा स्तरीय चुनवी भेलालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउनका लागि गठबन्धन आवश्यक रहेको हुँदा वाम गठबन्धनलाई जनताले मत दिनु पर्ने बताउनु भएको हो । पटक पटक बहुमत सहित सरकारमा पुगे पनि कांग्रेसले कुनै उदाहरणीय काम गर्न नसकेको आरोप लगाउँदै अब दुईतिहाई बहुमतको सरकार बनाउने बाम गठबन्धनको पालो रहेको ठोकुवा गर्नुभयो । उहाँले भन्नु भयो, ‘सधैभरी मुलुकमा देखिएको अस्थिर र अन्यौलताको राजनीति बाम गठबन्धनले तोड्दै स्थायी बातावरण बनाउन लाग्दैछ ।’ कम्युनिष्टहरु एक भई अधिनायकवाद लाद्न खोजेको भ्रम फैलाउन काँग्रेस लागि परेको भन्दै नेता गौतमले त्यस तर्फ चनाखो रहन सबैमा आग्रह गर्नुभयो । बर्दिया क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उमेद्वार समेत रहेका उपाध्यक्ष गौतमले वामपन्थीको स्थायी सरकारले नै जनताका हर समस्याको समाधान गर्ने दावी गर्नुभयो । चुनावी सभालाई बर्दिया निर्वाचन क्षेत्र नं. १ (१) का प्रदेश सभा उमेद्वार तिलक शर्मा हिमाल लगायतले संवोधन गर्नुभएको थियो । सो सभामा राष्ट्रिय जनता पार्टीका जिल्ला सचिव समसुद्दिन शेष सहित ६० जना कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।