समाचार

मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन वाम गठबन्धन कार्यकर्ताहरुलाई निर्देशन

नेपालगंज : शनिबार २५ कार्तिक २०७४ / वाम गठबन्धन क्षेत्र नं. २ नेपालगन्जले शनिबार संयुक्त चुनावी प्रशिक्षण कार्यक्रम गरेको छ । वाम गठबन्धनका नेताहरुले संयुक्त उम्मेद्वारलाई जिताउन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादवले महान् उद्देश्यका साथ दुई पार्टी एकीकरणको चरणमा पुगेकाले आगामी चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका फरक फरक उम्मेद्वारहरु रहेकाले मतदाताहरुको मत बदर हुनसक्ने भएकाले वाम गठबन्धनका नेता कार्यकर्ताहरुले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिनुभयो । क्षेत्र नं. २ का प्रदेशसभा ख का उम्मेद्वार विजयकुमार गुप्ताले चुनाव जितेमा पारिश्रमिक नलिने घोषणा गरेका छन् । मैले चुनाव जितेमा पारिश्रमिक लिन्न, त्यो पैसालाई समुचित विकास निर्माणमा खर्च गर्छु, गुप्ताले भन्नुभयो, नेपालगन्जको विकास गर्ने म सँग योजनाहरु छन् । क्षेत्र नं. २ का प्रदेशसभा क का उम्मेद्वार कामताप्रसाद खटिकले प्रदेशको विकासका लागि आफूले जनताका चाहना अनुरुप अघि बढ्ने बताउनुभयो । वाम गठबन्धनका क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्यको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा वाम गठबन्धनका नेताहरु एमालेका वैकल्पिक केन्द्रिय सदस्य मोहम्मद हारुन, अशोक कोइराला, निरक गुरुङ, अक्कलबहादुर बम, पार्वती पुन, लगायतले गठबन्धनलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।