समाचार

कोहलपुरको थारु गाउँ हात्तिपाइले रोगको उच्च जोखिममा, उप–प्रमुख सञ्जु कुमारी द्वारा दुःख व्यक्त

नेपालगंज : मंगलबार २१ कार्तिक २०७४ / कोहलपुर नगरपालिका अन्तर्गतका वडा नं. ५ र ६ हात्तिपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाको ५ र ६ नंम्वर वडा भित्रको थारु समुदायका २ सय ५७ जनाको रगत परीक्षण गर्दा ५४ जनामा हात्तिपाइलेको संक्रमण देखिएको छ । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र रझेना स्वास्थ्य चौकीले संयुक्त रुपमा रझेना थारु गाउँमा स्थानीयको रगत परिक्षण गर्दा ५४ जना यो रोगबाट प्रभावित भएको पाइएको हो । कोहलपुर नगरपालिका उप–प्रमुख तथा स्थानीय सञ्जु कुमारी थारुले नगरपालिका भित्रका २ वटा वडामा रगत परिक्षणका क्रममा संक्रमित संख्याले हात्तिपाइले नियन्त्रणमा ठुलो चुनौती देखिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । सरकारी पक्षले वर्षेर्नी अभियानकै रुपमा करौडौं रकम हात्तिपाइले नियन्त्रणका लागि खर्चिने गरेपनि अभियानले अपेक्षा गरे अनुसार सफलता पाउन नसकेको उनको भनाई छ । रगत परीक्षण कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी नगरपालिका उप–प्रमुख थारुले आफुले पनि रगत परीक्षण गराएको तर आफुमा भने संक्रमण नदेखिएको जानकारी दिइन् । कार्यक्रममा वडा नं. ५ र ६ का वडाध्यक्षद्वयले रगत परिक्षण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । जनचेतनाको कमीले पनि धेरै व्यक्तिहरु हात्तिपाइले रोगका विषयमा अनभिज्ञ रहेको भन्दै प्रभावकारी रुपमा सबै वडाहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने तत्काल देखिएको उप–प्रमुख थारुको भनाई छ ।