समाचार

आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारलाई कडा कारवाही गर्ने निर्वाचन आयोगको चेतावनी

 

शुक्रबार १७ कार्तिक २०७४ /  निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा ‘युवाहरुका लागि निर्वाचन सम्बन्धि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले यस्तो चेतावनी दिनुभएको हो । मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कारबाही हुनेतर्फ पनि आयुक्त यादवले सचेत गराउनुभयो । उहाँले आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरुलाई पुनः निर्देशन दिनुभएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए–नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ । अनुगमनको क्रममा भोजभतेर गरेर मतदातालाई प्रभावित तुल्याउने गतिविधि गर्ने होटलहरुलाई समेत कार्वाही हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पार्नुभयो । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal