समाचार

म्यानमार बिरुद्ध नेपालगंजमा विरोध प्रदर्शन , रोहिंग्या मुस्लिमको सुरक्षाको मांग_फोटो सहित

 

नेपालगंज : आईतबार २५ भदौ २०७४ / म्यानमारमा रोहिंग्या मुसलमानहरु माथि भईरहेको नरसंहारको विरोधमा नेपालगंजका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी बाँके मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएका छन् । रोहिंग्या मुसलमानहरु माथि भईरहेको नरसंहारको बिरुद्धमा नेपाल स्थित म्यानमार दुतावासलाई नेपाल सरकारले कडा शब्दमा बिरोध गर्न , कुटनीतिक दबाव दिन र राष्ट्र संघमा यस नरसंहारलाई रोक्न आवाज उठाउन ज्ञापन पत्रमा आग्रह गरिएको छ । नेपालगंजमा भएको प्रर्दशनमा पूर्व श्रम मन्त्री मोहम्मद इस्तीयाक राइले नेपाल सरकारले समेत यो घटनालाई चासोका साथ लिएर सम्बन्धीत सरकारलाई दबाब दिन जरुरी रहेको बताउनु भयो । यसैगरी मुस्लिम धर्मगुरु मौलाना जमाल अहमद कादरीले म्यानमारका रोहिंग्या माथि भई रहेको नरसंहार समग्र मानवअधिकारको हनन भईरहेको बताउदै यस बिरुद्ध सम्पूर्ण मानवाधिकारवादी एकजुटभई विश्व ब्यापी दबावदिन जरूरी रहेको बताउनु भयो । ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले यो ज्ञापन पत्र आजै सम्बन्धित र प्रधानमन्त्रिको कार्यालय पठाउने प्रतिबधता जनाउनु भयो ।  नेपाल संयुक्त राष्ट्र संघको शान्तिप्रिय मुलुक भएको कारणले  यस्ता सवालहरुमा हाम्रा मुलुकबाट पनि केहिना केहि पहल र प्रयासहरु हुने प्रमुख जिल्ला अधिकारी केसीले  विश्वास व्यक्त गर्नु भयो । रोहिंग्या माथि भईरहेको नरसंहारको विरोधमा बाँके बासीको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौक देखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।