समाचार

बालबालिकाको शैक्षिक शिप सुधारका लागि पैरवी तथा चेतनामूलक अभियान संचालन

 
सिराज खान नेपालगंज : बिहिबार १५ भदौ २०७४ / कक्षा १ देखि ३ सम्मका बालबालिकाको शैक्षिकस्तर सुधारका लागि बाँके जिल्लामा गाउँ तथा वडा तहमा बिशेष प्रकारको पैरवी तथा चेतनामूलक अभियान संचालन गरिएको छ । 
सानो उमेरदेखिनै बालबालिकामा शिक्षाको जग बलियो बनाउने उदेश्यले प्रारम्भिक कक्षा पढाईका लागि जिल्लाका सबै ८१ वटा वडामा सो पैरवी तथा चेतनामूलक अभियान संचालन गरिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । 
बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार सो अभियान अन्तर्गत जिल्लामा रहेका सबै वडामा अहिले चेतनामूलक ¥याली निकाल्ने र सो बारेमा छलफल तथा अन्तरक्रिया गर्ने कार्य चलिरहेको छ । 
बिद्यालय र मदरसाको कार्य क्षेत्र भित्र पर्ने सबै वडामा अभिभावक, टोल पढाई समुहका संयोजक र सदस्यहरु, आमा समुह, बाल क्लब, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक र बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी लगायतको सहभागितामा विभिन्न प्लेकार्ड बोकेर ¥याली निकाल्नुका साथै बालबालिकाको पढाई शिपमा सुधारका लागि छलफल र अन्तरक्रियाहरु भैरहेको सहायक जिल्ला शिक्षा अधिकारी थापाले बताउनु भयो । 
उहाँले प्रारम्भिक कक्षा पढाईका लागि बिशेषगरी अभिभावकलाई क्रियाशिल र सचेत बनाउने उदेश्यले संचालन गरिएको सो अभियानमा अभिभावक लगायत अन्य सबै सरोकारवालाहरुको उल्लेख्यनिय सहभागिता भैरहेको पनि बताउनु भयो । 
हालसम्म जिल्लाका करिब २ दर्जन जति वडामा सो अभियान सम्पन्न भैसकेको जनाउँदै सो अभियानलाई प्रत्यक्ष रुपमा संचालन गरिरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले उक्त अभियानबाट अभिभावकमा चेतना बृद्धि हुन थालेको पाईएको बताउनु भयो । 
यसअघिसम्म आफ्ना बालबालिकालाई बिद्यालय नपठाउने र पठाएर पनि उनिहरुको शिक्षामा खासै ध्यान नदिने अभिभावकले हाल आएर बालबालिकाको पढाईमा बिशेष रुचि लिन थालेको पाईएको उहाँले बताउनु भयो । 
बालबालिकाको पढाई शिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बाँकेमा गठन गरिएका टोल पढाई समुहहरुमा अहिले विदाको समयमा बालबालिकाहरु आएर रमाई रमाई पढाई गरिरहेका छन् । 
बाँकेमा ६ सय ७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूह मार्फत बालबालिकाको पढाई शिप सुधारका लागि सक्रिय रुपमा पठनपाठन भैरहेको बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधरले बताउनु भयो । 
प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३ सय ५९ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने ६२ हजार बालबालिकाको शैक्षिक शिप विकासमा सहयोग गरिरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । 
 

फोटो : पैरवी तथा चेतनामूलक अभियान अन्तर्गत निकालिएका ¥याली र सभाहरु ।