समाचार

डेरा सच्चा सौदा प्रमुख बलात्कारको मुद्दामा दोषी ठहर, अदालतको फैसला लगत्तै भड्किए समर्थक, २८ को मृत्यु

 
भारत : शुक्रबार ०९ भदौ २०७४ / अदालतको फैसला लगत्तै राम रहीमका समर्थकले हिंसात्मक प्रदर्शन गरेका छन् । सुरक्षाबल र डेरा समर्थकको झडपमा २८  जनाको मृत्यु भएको पुष्टि भएको छ । पञ्जाबको मनसा र मलोटमा रेलवे स्टेशनमा रामरहीमका समर्थकले आगो लगाएका छन् । हरियाणाको पंचकुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कफ्र्यू लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अर्टलमा राखिएको छ । प्रहरीले चार जनालाई पेट्रोल बमसहित पक्राउ गरेको छ । हिंसाको घटना बढेपछि २६ अगष्टमा पञ्जाबको थुप्रै स्कुल कलेज बन्द राख्न भनिएको छ । राजस्थानको गंगानगरमा इन्टरनेट सेवा बन्द गरिएको छ ।
भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख धर्मगुरु गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको छ । यो फैसलासँगै पञ्जाब र हरियाणामा भड्किएको हिंसामा २८  जनाको मृत्यु भएको छ । पंचकुलाको विशेष अदालतले राम रहीमलाई दोषी ठहर गरेको हो । तर, कुनकुन धारामा दोषी ठहर भएको खुलेको छैन । अदालतले यसबारे २८ अगष्टमा सजाय सुनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई हिरासतमा लिएर सेनाको नियन्त्रणमा राख्ने फैसला भएको छ । सेनाको वेस्टर्न कमाण्ड मुख्यालयमा राखिएको छ । उनलाई कुन जेलमा पठाउने भन्ने शुक्रबार राति कुनै पनि बेला वा शनिबार तय हुनेछ ।