समाचार

रेडियो सदभावको स्वास्थ्य शिविरमा ७ सय बढीको उपचार

 
नेपालगंज : शनिबार ०३  भदौ २०७४ / नेपालगन्जको रेडियो सदभावले बाढीप्रभावित बाँकेको राप्तीसोनारी गाउँपालिका तीन स्थित बैजापुरमा आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा सात सयबढीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । तिमध्ये जटिल प्रकृतिका ५० बढीलाई बिशेषज्ञ उपचारका लागि नेपालगन्जका अस्पतालमा रिफर गरिएको छ । 
जेष्चर्स अफ काइन्डनेस ग्रुप र नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसरसहितको एक दर्जन बढीको चिकित्सक टोलीले विरामीहरुको उपचार गरेको थियो । गाउँमै निशुल्क स्वास्थ्य जाँच र उपचार पाएपछि स्थानियहरुले आफुहरुलाई विपतका बेला सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका थिए । बाढी र डुवानपछि विभिन्न रोगहरुको संक्रमणले स्थानीयबासीहरु विरामी पर्न थालेपछि त्यसलाई नियन्त्रणमा राख्न शिविर गरिएको स्टेशन प्रमुख नवीन गिरीले वताए । 
उपचारमा संलग्न डाक्टर ऋषी भट्राईले सिविरमा आएका हरुमा रुघाखोकी, ज्वरो र छालासम्बन्धि समस्या बढि देखिएको जानकारी दिए । बाढिपछिको अवस्थामा यस्ता खाले रोगहरु प्राय सर्ने  खालको हुने हुँदा सरसफाईमा ध्यान दिन भट्राईले सुझाव समेत दिएका छन । रेडियो सदभावको आयोजना, जेष्चर्स अफ काइन्डनेस ग्रुप र नेपालगन्ज मेडिकल कलेजको सहयोग र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा एक दिने निःशूल्क स्वास्थ्य शिविर गरिएको हो । 
त्यसैगरी ‘रेडियो सदभाव बाढी प्रभावित राहत कोष’मा जम्मा भएको रकमबाट कमिलाल थारुको घर निर्माणका लागि राप्तीसोनारी गाउँपालिकामार्फत ६ बण्डल जस्तापाता हस्तान्तरण गरिएको छ । थारुको घर भत्कदा उहाँका तीन छोरीको ज्यान गएको थियो ।