समाचार

बाढीले आठ अर्ब बराबरको कृषिबालीमा क्षति, बिउबिजन र मलखाद निशुल्क वितरण गर्ने मन्त्रालयको तयारी

 
सिआईएन : बुधबार ३२ साउन २०७४ / बाढीका कारण तराईका ३१ जिल्लामा कृषिबाली ८ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धानको पकेट क्षेत्र तराईमा बाढीले सबैभन्दा बढी धानखेती नै क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार दुई लाख ३६ हजार १ सय ३१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर परेको छ । त्यस मध्ये ४७ हजार २ सय २६ हेक्टर क्षेत्रफलमा धानबाली पूर्णरुपमा नस्ट भएको छ । यो क्षेत्रफलको उत्पादनको मूल्य ३ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । 
 
त्यसैगरी, २० हजार ५ सय ९३ हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेती बाढीले प्रभावित भएको छ । त्यसमध्ये ८० प्रतिशत नष्ट भएको मन्त्रालयको अनुमान छ । तरकारीबाली मात्रै २ अर्ब ९६ करोड ५४ लाख रुपैयाँको क्षति भएको छ । दलहन खेतीतर्फ ८ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । मन्त्रालयका अनुसार २४ करोड १३ लाख रुपैयाँ बराबरको दलहन बाली क्षति भएको छ । 
 
माछा पालन गरिएको दुई हजार २ सय २४ हेक्टर क्षेत्रफल प्रभावित भएको मन्त्रालयले जनाएको छ । १ हजार ३ सय २४ हेक्टर क्षेत्रफलको माछा नष्ट भएको प्रारम्भिक तथ्यांक छ । मन्त्रालयका अनुसार १ सय ८८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती क्षति पुगेको छ । 
 
१ सय ५५ हेक्टर क्षेत्रफलको तेलहन बाली, १५ हेक्टर क्षेत्रफलमा गरिएको बदाम खेती र तीन सय हेक्टर क्षेत्रफलमा गरिएको बेसार खेतीमा क्षति पुगेको छ । 
 
दुई लाख ७२ हजार ६ सय ३० हेक्टर क्षेत्रफलको कृषिबालीमा बाढीले असर गरेको छ । जसमा ७८ हजार ५ सय १५ हेक्टर क्षेत्रफलको कृषिखेती नष्ट भएको छ । क्षतिको विवरण एकिन गरेर कृषि ऋण मिनाहा गर्ने तयारी भइरहेको कृषि विकास मन्त्री रामकृष्ण यादबले बताउनुभयो । 
 
उहाँले बिउबिजन तथा मलखाद निशुल्क वितरण गर्ने बताउनुभयो । धानखेतीमा धेरै क्षति भएकोले ५४ लाख मेट्रिक टन धान उत्पादनको लक्ष्य भेटाउन कठिन हुने भन्दै उहाँले छरुवा धान खेतीलाई प्राथमिकता दिने बताउनुभयो । 
 
तराईमा स्वर्ण १, साम्बा मनसुली, सवा १ र सेहराङ जातको धान धेरै रोपिएको भन्दै मन्त्रालयले यो धान दुई हप्तासम्म पानीमा डुबेपनि क्षति नहुने जनाएको छ । मन्त्रालयका कर्मचारीले बाढी पीडितलाई सहयोगको समेत घोषणा गरेका छन् । 
 
कृषि मन्त्रालय अन्तर्गत विशिष्ट श्रेणीका कर्मचारीहरुले ५ दिनको तलब, सहसचिव सरहका कर्मचारीले ४ दिनको तलब, उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीले तीन दिनको तलब, राजपत्र अनंकित कर्मचारीले दुई दिनको तलब र श्रेणीबिहिन कर्मचारीले एक दिनको तलब राहत स्वरुप उपलब्ध गराउने मन्त्रालयले घोषणा गरेको छ ।