समाचार

राष्ट्रिय खेलकुद प्रतियोगिताको बिषयमा छलफल

 

नेपालगन्ज : शुक्रबार २७ साउन २०७४ / नेपालगन्जमा हुने आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि नेपालगन्जका मेयर र उपमेयरलाई ध्यानाकर्षण गराईएको छ । आगामी २०७५ सालमा नेपालगन्जमा आयोजना हुने उक्त प्रतियोगताका लागि क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका अध्यक्ष तथा पदाधिकारीहरु सहितको टोलीले शुक्रबार ध्यानाकर्षण गराएका हुन । क्षेत्रीय अध्यक्ष भीम ओलीको नेतृत्वमा टोलीले मेयर धवलशमशेर राणा र उपमेयर उमा थापामगरसंग प्रतियोगिताको बिषयमा छलफल गरेको थियो । अध्यक्ष ओली सहितको टोलीले आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा गराउने सम्बन्धमा यहाँको भौतिक पुर्बाधार निर्माण तथा प्रतियोगिता तयारीका लागि आर्थिक बर्ष २०७४÷०७५ मा बजेट बिनियोजनका लागि ध्यानाकर्षण गराएको थियो । मेयर राणाले सो कामलाई सम्पन्न गर्नका निमित्त तत्काल खेलकुद बिकास समितिबाट  २ जना खेलकुद बिज्ञहरुलाई उपमहानगरपालिकामा समन्वय गर्न पठाउन आग्रह गर्नुभयो । उपमेयर थापामगरले उपमहानगरपालिका खेलकुद क्षेत्रलाई सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता जनाउनुभयो । खेलकुदको टोलीमा राखेप सदस्य बिनोद मैनाली , क्षेत्रीय निर्देशक जयन्त कुमार शर्मा, कार्यालय प्रमुख बिष्णु शर्मा, जिल्ला अध्यक्ष आतंक बस्नेत, जिल्ला प्रमुख बिरोध जिसी, प्रशिक्षक हृदयकृष्ण मास्के, नायब सुब्बा सन्तोष श्रेष्ठ, एन्फा बाँकेका अध्यक्ष प्रदेशसिंह राठौर लगायतका रहनु भएको थियो ।