समाचार

संविधान संशोधन बेमौसमको बाजा : एमाले नेता खनाल

 
बिहिबार २६ साउन २०७४ / नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ । “यो बेमौसमको बाजा हो, संविधान कार्यन्वयनका बेला संशोधन प्रस्ताव पारित हुनै सक्दैन”उहाँले भन्नुभयो ।  इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कलमा आज आयोजित कार्यक्रममा नेता खनालले राजपालाई चुनावमा भाग लिन आग्रह गर्दै माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनलाई सार्थकता बनाउन सके निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभयो ।   आगामी असोज २ गते २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गर्दै उहाँले त्यसका लागि चुनावी प्रचारप्रसारमा लाग्न पार्टीले निर्देशन दिइसकेको बताउनुभयो ।