समाचार

बालविवाह विरुद्धको राष्ट्रिय अभियान राष्ट्रपतिद्वारा शुभारम्भ

 
बिहिबार २६ साउन २०७४ / बालविवाह अन्त्यका लागि ‘नेपाली जुटौं, बाल विवाह रोकौं’ राष्ट्रिय अभियान शुरु भएको छ ।  राजधानीमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरेर अभियानको शुरुवात  गर्नुभएको हो ।  
 
सन् २०२१ सम्म सञ्चालन हुने ५ वर्षे अभियान सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपाल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा आजदेखि औपचारिक रुपमा शुरु भएको हो ।  
 
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐनले विवाहको उमेर तोकेको र बालविवाह गर्नेलाई दण्ड सजायको व्यवस्था हुँदाहुँदै पनि बालविवाह हुने मुलुकहरुमा नेपाल अगाडि पर्नु दुःखको कुरा भएको भन्दै यसविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  
 
बालविवाह मध्ये पनि बालिकाको विवाह बढी हुने गरेको र यसले बालिकाहरुको अधिकार हनन् हुने तर्फ सचेत रहन उहाँले सबैलाई आग्रह गर्नुभयो ।  कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बालविवाह विरुद्ध सामुदायिक रेडियोहरुले यस्तो अभियान सुरु गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।
 
बालविवाह बारेको सचेतनाको अवस्था बढ्दै गएको भन्दै उहाँले अब, व्यवहारमै कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । सन् २०३० सम्मको दीगो विकास लक्ष्यमा पनि बालविवाह अन्त्यलाई राखिएकाले त्यसलाई पुरा गर्न सबै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री कोइरालाले नेपालमा कानुन हँुदाहँुदै पनि कार्यान्वयनको पाटो भने चुनौतिपूर्ण रहेको बताउनुभयो । 
 
कानुन मन्त्री यज्ञ बहादुर थापाले नेपालको बालविवाहको अवस्थाले सम्पूर्ण नेपालीलाई संकोच बनाएको भन्दै मन, वचन र कर्मबाटै वालविवाह अन्त्यमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कुरीति, कुसंस्कार अन्त्यका लागि कानुनसँगै समाज अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
बालविवाह सम्बन्धी कानुन र विवाह गर्ने उमेर फरक, फरक रहेकाले त्यसलाई एकरुपता ल्याउनुपर्ने उहाँको भनाई थियो । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले सांस्कृतीक बिषेशतालाई आत्मसात गर्दै सामुदायिक रेडियोहरुले ७० भन्दा बढि भाषामा कुरीति र कुसंस्कार विरुद्ध सामग्रीहरु प्रसारण गरिरहेको जानकारी गराउनुभयो ।  
 
सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्ड भिजन ईन्टरनेशनलले संयुक्त रुपमा अभियानको शुरुवात गरेको हो ।