समाचार

दृष्टिविहीन बालबालिका अधिकारका लागि बालक्लबमा संगठीत

 
सिराज खान नेपालगज : बुधबार २५ साउन २०७४ / दृष्टिविहीन बालबालिकाहरुले आफ्नो अधिकार र क्षमता विकासका लागि बालक्लब गठन गरेर संगठीत भएका छन् ।  
स्थानीय मंगल प्रसाद माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुले एक भेलाको आयोजना गरेर नव प्रतिभा नामक बाल क्लब गठन गरी सो क्लबमा संगठित भएका छन् ।
दृष्टिविहिन बालबालिकाहरुको बाल भेलाले विष्णु विकको अध्यक्षतामा ११ सदस्यी कार्यसमिती र १३ जना साधारण सदस्य रहने गरी २६ जनाको बाल क्लब गठन गरेको छ । क्लबको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश शिवराज विक, हरि बहादुर क्षेत्री, हरिकला विक र यमजन विष्ठ रहनु भएको छ ।
अपाङ्गता भएका बालबालिकाहरुको क्षमता अभिबृद्धि तथा बालअधिकारको वकालतका लागि अपाङ्गता भएका बालबालिकाहरुलाई संगठीत गरेर बाल क्लबको गठन गरिएको नव प्रतिभा बाल क्लबका अध्यक्ष विष्णु विकले बताउनु भयो । 
उहाँले दृष्टिविहिनहरुको अपांगता भएका क्षमता अभिबृद्धि गरेर उनिहरुलाई पनि अन्य बालबालिका जस्तै अगाडी बढाउन क्लबले बिभिन्न रचनात्मक काम गर्ने बताउनु भयो । 
बालअधिकार बारे सबैलाई जानकारी गराउने र अपांगता भएका बालबालिकाले पाउने सेवा सुविधा समेत सबैले थाहा पाउनु पर्ने जनाउँदै क्लबका अध्यक्ष विकले सोहीका लागि पहिलो पटक दृष्टिविहीनहरु बालक्लबमा संगठीत भएको बताउनु भयो । 
दृष्टिविहीन बालबालिकाहरु बालक्लबमा संगठीत भएपछि उनिहरुले नेपालगञ्जका अन्य विभिन्न दृष्टिविहीन र अपांगता भएका बालबालिकालाई पनि संगठीत गर्ने जनाएका छन् । 
नव प्रतिभा बाल क्लबका उपाध्यक्ष शिवराज विकले आफुहरुले आफुजस्तै अन्य बालबालिकाको खोजी गरेरै भएपनि उनिहरुलाई समेत समेट्ने बताउनु भयो । 
नेपालगञ्जको सहरी गरिब बस्तीमा बसोबास गर्ने बालबालिका र अपांगता भएका बालबालिकाका लागि आयोजना गरिएको सहयात्रा परियोजना अन्तर्गत दृष्टिविहीन बालबालिकाहरुलाई संगठीत गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत विरेन्द्र थापाले जनाएको छ । 
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरिरहेको सहयात्रा परियोजना अन्तर्गत नेपालगञ्जका ५ वटा गरिब बस्तीमा बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु संचालन भैरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो । 
बाल क्लबको गठनमा सहयात्रा परियोजनाका अधिकृत गुलाम गौसले सहजीकरण गरेको सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्माले बताउनु भयो ।