समाचार

टोल पढाई समुहका ३ सय ५० जना बालबालिकालाई चटाई बितरण

 
सिराज खान नेपालगञ्ज : शुक्रबार १३ साउन २०७४ / भुईंमा बसेर पठनपाठन गरिरहेका डुडुवा गाउँपालिका वडा नम्बर २ का करिब ३ सय ५० जना साना साना बालबालिकालाई सो गाउँपालिकाको २ नम्बर वडा समितिले बस्नका लागि ५४ थान ठुलो चटाई बितरण गरेको छ । 
बालबालिकाको पढाई शिप सुधारका लागि बिद्यालय विदाका दिन पनि पठनपाठनलाई सुचारु राख्न गठन गरिएका टोल पढाई समुहमा बालबालिकाले भुईमा बसेर पढाई गरिरहेको देखेर उनिहरुलाई बस्नका लागि सो चटाई बितरण गरिएको वडा समितिको कार्यालयले जनाएको छ । 
टोल पढाई समुहमा गएर पठनपाठन गर्ने डुडुवा गाउँपालिका २ मा रहेका १६ वटा टोल पढाई समुहमा आवद्ध करिब ३ सय ५० जना बालबालिकालाई बस्नका लागि ५४ थान चटाई बितरण गरिएको डुडुवा गाउँपालिका वडा नम्बर २ का सचिव मान बहादुर बोगटीले बताउनु भयो । 
टोल पढाई समुहले बालबालिकाको पढाई शिप सुधारमा ठुलो सहयोग पुर्याई रहेको जनाउँदै सचिव बोगटीले यो कार्यक्रमलाई सफल पार्न वडा समितिले हर प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो । 
बाँकेको बेतहनीमा आयोजित कार्यक्रममा डुडुवा–२ मा रहेका १६ वटा टोल पढाई समुहका संयोजकहरुलाई चटाई बितरण गर्दै वडा नम्बर २ का नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद कैरातीले टोल पढाई समुहले बालबालिकाको शिक्षाको जग बलियो बनाउने काम गरिरहेको जनाउँदै वडा समितिले सहयोग गरिरहने बताउनु भयो । 
उहाँले शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने आफ्नो चाहना रहेको प्रष्ट पार्दै वडाको आगामी बजेटमा समेत टोल पढाई समुहलाई सक्षम र सुदृढ बनाउन बजेट बिनियोजन गरिने बताउनु भयो । 
सो अवसरमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सरकारले नमुनाका रुपमा बाँके लगायतका ६ वटा जिल्लामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरेको जनाउँदै यो कार्यक्रमलाई सफल पार्नु सबैको साझा दायीत्व भएको बताउनु भयो । 
वडा समितिले टोल पढाई समुहलाई सहयोग गरेकोमा आभार प्रकट गर्दै उहाँले भविष्यमा पनि क्लब र वडा समितिले सहकार्य गरेर वडाको शिक्षा र स्वास्थ्यका लागि धेरै काम गर्न सक्ने बताउनु भयो । 
सो अवसरमा बोल्दै वडा नम्बर २ का महिला सदस्य लिलावती यादवले शिक्षाको क्षेत्रमा डुडुवा धेरै पछाडी परेकोले यस क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि आफुहरुले दिनरात प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो । 
सो अवसरमा वडा नम्बर २ का नवनिर्वाचित सदस्यहरु एजाजुद्दिन खान र विनोद कुमार लोनिया, बाँके युनेस्को क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, वरिष्ठ उपाध्यक्ष सिराज खान, वरिष्ठ कार्यक्रम संयोजक साजीद अली सिद्दिकी, रवि तुलाधर लगायत वडावासीहरुको उल्लेखय उपस्थिति रहेको थियो । 
कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाको पढाई शिप निकै कमजोर देखिएपछि नेपाल सरकारले पढाई शिप सुधारका लागि बाँके जिल्लामा बाँके युनेस्को क्लबमार्फत प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिरहेको छ । 
सो कार्यक्रम अन्तर्गत जिल्लाका ३ सय ६० वटा सबै बिद्यालय र मदरसाको कार्यक्षेत्रमा ७ सय ७८ वटा टोल पढाई समुह गठन गरेर बिदाका दिनमा समेत पठनपाठन गरिंदै आएको छ । 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal