समाचार

शहरी गरिब बस्तीका ६४ बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण

 
सिराज खान नेपालगंज : सोमवार ८ जेठ २०७४ / पोषण सप्ताह २०७४ को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको शहरी गरीब बस्तीमा बसोबास गर्ने ६४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।
 
जिल्ला  जनस्वास्थ्य कार्यालय बाँके, मेडिकल कलेज कोहलपुर, सेभ द चिल्डे«ेन र बाँके युनेस्को क्लबले संयुक्त रुपमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि आयोजित स्वास्थ्य परीक्षणमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बागेश्वरीटोलमा अध्ययनरत ४१ जना बालक र २३ जना बालिका गरी जम्मा ६४ जना स्वास्थ्य परीक्षण गरिएको हो । 
 
नेपालगन्ज मेडिकल कलेजका बाल रोग बिशेषज्ञ डा. पीयूष कनोडियाले परीक्षण गर्नु भएको परीक्षणबाट ६ जना बालबालिकालाई थप उपचारका लागि सिफरिस गरिएको छ । डा. कनोडियाका अनुसार बालबालिकाहरुमा मुख्य व्यक्तिगत सरसफाईमा धेरै समस्या रहेको हुँदा नियमित रुपमा सरसफाईका लागि सचेतना फैलाउनु पर्ने भएको छ ।
 
स्वास्थ्य परीक्षणमा ज्वरो आउने, दाँतको समस्या, हातको समस्या, मानसिक लगायतको स्वास्थ्य समस्याको बारेमा परीक्षण गरी निःशुल्क औषधी सहयोग गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपेन्द्र सिंह ठाकुरी बताउनु भएको छ ।
 
ठकुरीका अनुसार सिफरिस हुनेमा २ जना फिजियोथेरापी, १ जना दाँत, १ जना मानसिक, १ जना हातको र १ जना छाला सम्बन्धि समस्या भएको बालबालिकाका लागि सिफारिस गरिएको हो । 
 
स्वास्थ्य परीक्षणको उद्घाटनमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्का, सेभ द चिल्ड्रेन नेपालगन्जका एसोसियट डाइरेक्टर बिरेन्द्र ठगुन्ना, सुहारा कार्यक्रम संयोजक ईन्द्र आउजी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वनवारी लाल बैश्य लगायतकोले शुभकामना व्यक्त गर्नु भएको थियो । सोही अवसरमा विद्यार्थीहरुलाई हात धुने अभ्यास पनि गराईएको थियो ।