समाचार

यमनमा हैजाका कारण १ सय १५ जनाको मृत्यु

 
सोमबार ०१ ज्येष्ठ २०७४ / द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण १ सय १५ जनाको मृत्यु भएको छ । हैजाको प्रकोपबाट ८ हजार ५ सयभन्दा बढी बिरामी परेका अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ । बिरामीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरु यमनमा पुगेका छन् । 
 
यसअघि विश्व स्वास्थ्य संगठनले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो । यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको संक्रमणका कारण ठूलो संख्यामा नागरिक प्रभावित बनेको यो दोस्रो घटना हो । 
 
यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौं मानिस समस्यामा परेका छन् । विश्व खाद्य संगठनका अनुसार करिब १ करोड ७० लाख मानिसले आधारभूत खाद्यान्नको अभावमा बाँच्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।