समाचार

पारसको आक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा

 
कैलाली : सोमवार ४ चैत्र २०७४ / धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वको धनगढी टिम चौराह, धनगढी प्ले अफमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा अपराजित तथा अंक तालिकाको शीर्षस्थानमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो । 
 
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो । खराब सुरुवात गरेको रुपन्देहीले १६ रन हुंदा चार विकेट गुमाइसकेको थियो । उसका लागि प्रकाश केसीले सर्वाधिक ४९ तथा अन्तिम थापाले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । 
 
रुपन्देहीलाई कम रनमा समेट्न धनगढीका लागि ललित राजबंशीले चार विकेट लिनुभयो भने सुशान भारी र सौरभ खनालले १÷१ विकेट दिनुभयो । ९२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको धनगढीले ११ ओभरमा ४ विकेट गुमाउँदै विजय लक्ष्य पुरा ग¥यो । 
 
पिडिएलको कुनै पनि खेलमा नचलेका कप्तान पारस खड्का लिग चरणको अन्तिम खेलमा चम्किदै आफ्नो टीमलाई प्लेअफमा पुराउन सफल हुनुभयो । २१ वलमा ४२ रन जोड्न सफल उहाँले ७ चौका र २ छक्का प्रहार गर्नुभयो । त्यस्तै, धनगढीका आरिफ सेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह रौटेलाले १३÷१३ रन जोड्नुभयो । रुपन्देहीका लागि साहद आलमले दुई र कृष्ण कार्कीले १ विकेट लिनुभयो । 
 
यसअघि एउटा मात्र खेल जितेको पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्ले अफमा पुग्न १४ ओभर तीन बलमा जित लक्ष्य भेटाउनु पर्ने थियो । यदि त्यस्तो नभए कञ्चनपुर आइकोनिक प्लेअफमा पुग्ने अवस्था थियो । तर ११ ओभरमै धनगढीले लक्ष्य भेटाएपछि कञ्चनपुर आईकोनिक समान चार अंक भएपनि रनरेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । 
 
अंक तालिकाको पुछारमा रहदै सिवाईसी अत्तरीया यसअघि नै घर फर्किसकेको छ । यता अंक तालिकामा ५ खेलमा एक खेल गुमाएको रुपन्देही च्यालेन्जर्स ८ अंक सहित शिर्षस्थानमा रहदा ५ खेलमा दुई खेलमा हार व्यहोरेको विराटगर किंग्स दोस्रो स्थानमा रहेको छ । समान चार अंक रहेको काठमाण्डौ गोल्डेन्स तेस्रो र धनगढी टीम चौराह चोथौ हुँदै प्लेअफमा पुगेका छन् । 
 
४÷४ अंक भएपनि रनरेटका आधारमा कञ्चनपुर आईकोनिक पाँचौ र सिवाईसी अत्तरीया छैटौ हुदै प्रतियोगिताबाट वाहिर भईसकेका छन् । लिग अन्तर्गत वैशाख ५ गते कुनै पनि खेल छैन भने ६ गते अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेको रुपन्देही र विराटनगरले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता सिंधै फाईनल पुग्नेछ भने पराजित टीमले तेस्रो र चौथो टीमको विजेतासँग फाईनल प्रवेशका लागि मौका पाउनेछ । 
 
६ गते नै दोस्रो खेलमा काटठमाण्डौ गोल्डेन्स र धनगढी टीम चौराहबीच खेल हुनेछ । त्यसको विजेताले ७ गते पहिलो र दोस्रो खेलमा पराजित टोलीसँग फाईनलका लागि खेल्नेछ । वैशाख ९ गते सकिने धनगढी प्रिमियर लिगको विजेताले १५ लाख र उपविजेताले ७ लाख नगद पाउनेछन् ।