समाचार

भंघोटनामा बिद्यार्थी भर्ना सम्वाद

 
नेपालगंज : सोमवार ४ चैत्र २०७४ / नयाँ शैक्षिक सत्र सुरु भएलगतै बाँकेका बिद्यालयहरुमा भर्ना अभियान थालिएको छ । कार्यक्रम अन्तर्गत हिरमिनियास्थित सरस्वति माध्यमिक विद्यालय भंघोटनामा आज बिद्यार्थी भर्ना सम्वाद कार्यक्रम गरिएको छ । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुराज मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले गुणस्तरीय शिक्षाका लागि विद्यालयअनुसार शिक्षक पूर्ति गर्नुपर्ने कुरामा जोड दिएका थिए । सामुदायिक विद्यालयमा कक्षा थपिएपनि जिल्ला शिक्षा कार्यालयले शिक्षक नपठाउँदा पठन पाठनमा समस्या हुनुको साथै स्तरीय शिक्षा दिन नसकिएको सहभागिहरुले गुनासो गरेका थिए । 
 
विद्यालय निरीक्षक उद्धवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावकहरुले सामुदायिक र निजि विद्यालय गरी दुईटैमा भर्ना गराउनुका साथै विद्यार्थीहरुलाई घरको काममा लगाउनाले बीचैमा विद्यालय छोडने क्रम बढिरहेको सरोकारवालाहरुले बताएका छन् । 
 
माहाराजा मावि स्रोत केन्द्र पुरैनाका स्रोत व्याक्ति रामएकबाल मण्डलको उपस्थितीमा भएको कार्यक्रममा सहभागिहरुले विद्यालयको नियमित अनुगमन नहुँदा पढाईको स्तर खस्किएको र त्यसैकारण विद्यार्थी विद्यालयमा टिकाउन कठिन भएको बताएका थिए । 
 
यस्तै अभिभावकहरु सचेत नहुँदा वालबालिका नियमित विद्यालय नआउने समस्या रहेको शिक्षकहरुको गुनासो थियो । ९ वटा सामुदायिक विद्यालय र ८ मदरसा गरि १७ विद्यालयका ब्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक र अभिभावक संघलगायत ३८ जनाको सहभागिता रहेको विद्यार्थी भर्ना सम्वाद कार्यक्रममा ९ बुँदे निर्णय गरिएको भंघोटनाका मावि का प्रधानाध्यापक आशाराम कोरीले बताउनु भयो ।