समाचार

प्रकाशलाई नेपालगंज साइक्लिङ रेसको उपाधि

 
नेपालगंज : शुक्रवार २५ चैत्र २०७३ / पश्चिम नेपालमा पहिलो पटक आयोजना भएको नेपालगंज साइकल रेसको उपाधि प्रकाश बहादुर बोहराले शुक्रबार जितेका छन् । स्थानीय गणेशमान चोकदेखि सुरु भई गनापुर पुगी धम्बोजी चोकमा पुरा भएको १५ किलोमटिर दुरीको रेसमा गोविन्द प्रसाद रिजाल दोस्रो, गगनसिंह थापा तेस्रो भए । प्रकाशले उक्त दुरी ३० मिनेट, गोविन्दले ३२ मिनेट तथा गगनले ३३ मिनेटमा पुरा गरेका थिए ।
 
 नेपालगंजको धम्बोजीस्थित बि.बि.साइकल स्टोरले प्रायोजन गरेको साइक्लिङ प्रतियोगितामा १४ जनाले भाग लिएका थिए । ‘विविधता, नेपालगंजको मौलिकताः शान्ति, सद्भाव र समृद्धितर्फको यात्रा’ मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको नेपालगंज महोत्सव अन्र्तगत आयोजित साइक्लिङ प्रतियोगिताका शीर्ष ३ स्थान हासिल गर्नेलाई क्रमशः ४० हजार, २५ हजार र १५ हजार मूल्य बराबरका माउन्टेन बाइकले पुरस्कृत गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, सदस्य सचिव डा.जिवेन्द्रदेव गिरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, भेरी अंचल प्रहरी प्रमुख तथा साहित्यकार महेश विक्रम शाह, पूर्व मेयर डा. धवल शमसेर राणा, प्रायोजक बि.बि. साइकल स्टोरका प्रबन्ध निर्देशक मोहम्मद सरिफ लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । 
 
पश्चिम नेपालको पुरानो सहर नेपालगंजलाई पर्यावरणीय हिसाबले सफा र सुन्दर बनाउन ‘साइकल सिटि’का रुपमा विकास गर्ने उद्देश्यले ‘साइकल चढौं, स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक क्रियटिम ह्यान्ड्सले जनाएको छ । सुर्खेतरोड स्थित सिद्धार्थ कटेजको पूर्ण बाताअनुकुलित हलमा एक सातासम्म चल्ने महोत्सव अन्र्तगत चैत्र २७ देखि २९ सम्म नेपालगंज साहित्य उत्सव, ३० र ३१ दोस्रो नेपालगंज अन्र्तराष्ट्रिय फिल्म महोत्सव संचालन हुनेछ ।