समाचार

हात्तिपाइले रोग विरुद्धको औषधी भोलीदेखि ३ दिन सम्म खुवाइने

 
नेपालगंज : शुक्रबार ४ चैत २०७३ / भोलीदेखि ३० जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइदैछ । ३ दिन सम्म खुवाइने अभियानका लागि  बाँकेमा दुई हजार ३ सय ३ स्वयं सेवक, ३ सय ४६ स्वास्थ्यकर्मी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा १६ प्रतिशतमा अझैं हात्तिपाईलेको संकेत देखिएकोले खतरामुक्त नरहेको जनाउँदै सचेत रहन अपील गरेको छ ।
 
रगतमा हुने जुकाबाट लाग्ने हात्तीपाइले रोग लागेपछि जीवनभर सन्चो नहुने भएकाले औषधी सेवन गर्न जरुरी रहेको सम्बद्ध अधिकारीहरुले बताएका छन् । ६ पटकसम्म अभियानका रुपमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाए पनि बाँकेमा अझै निवारण नभएकोले पुनः यसपाली पनि खुवाउन थालिएको छ । 
 
जनस्वास्थ्य कार्यालयले आज पत्रकार भेटघाट गरि अभियान सफल पार्न सम्पूर्ण तयारी पुरा गरिएको जनाउँदै २ बर्ष मुनिका बालबालिका गर्भवती र कुनैपनि औषधी सेवन गरेका व्यक्ति दीर्घ रोगी बाहेक सवैले निर्धक्क रुपमा औषधी सेवन गर्न  जिल्ला जनस्वास्थ्य बाँके सवैलाई आहवान गरेको छ । 
 
उपमहानगरपालिकामा ६९ र गाविसमा ८ सय ५८ वटाबुथ राखेर ५ लाख २३ हजार ९८ लाई औषधी खुवाईने तयारी गरिएको जनस्वास्थ्य प्रशासक खिम बहादुर खडकाले जानकारी दिनु भयो । 
 
५ पटकको औषधी सेवनपछि २०७३ माघ ३ र ४ गते बाँकेका ६२४ जनामा गरिएको परीक्षणमा ९९ जनामा हात्तीपाइलेको जीवाणु फेला परेको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले दिएको छ ।