समाचार

रुपन्देही–११ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा

 
नेपालगंज : मंगलवार १ चैत २०७३ / नेपालगंजमा जारी दोस्रो टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा रुपन्देही–११ पुगेको छ । अमर डंगोलको दुई हेडिङ गोलको मद्दतले रुपन्देहीले प्रहरीलाई २–१ गोलले पराजित गरेको थियो ।
 
३३ मिनेटमा डीएरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीमार्फत प्रहरीले अग्रता लिएको थियो । जुमानु राईले प्रहरीलाई अग्रता दिलाएका थिए । गोल खाएको तीन मिनेटमै रुपन्देहीले बराबरी गरेको थियो । अमर डंगोलले उत्कृष्ट गोल गर्दै टीमलाई बराबरीमा ल्याएका थिए । फ्रिकिकमा आएको बललाई डंगोलले हेडिङ गरेर गोल गरेका थिए ।
 
रुपन्देहीका डंगोललाई रोक्न प्रहरीका रक्षकलाई हम्मेहम्मे भइरहेको थियो । ७५ मिनेटमा पाएको कर्नरमा फेरि डंगोलले हेडिङमार्फत नै गोल गरेपछि रुपन्देही–११ विजयी भएको थियो । म्यान अफ द म्याच डंगोलको प्रदर्शन उत्कृष्ट रह्यो ।
  
प्रतियोगितामा पाँच जनाले पहेलो कार्ड पाएका थिए । रुपन्देहीका ४ र प्रहरीका एकजनाले पहेलो कार्ड पाए । 
 
 
प्रहरीले प्रशिक्षक कुमार कटुवालले अग्रता लिएर पनि बचाउन नसक्दा पराजित भएको बताउनुभयो । ‘हाम्रो भन्दा समग्रमा रुपन्देहीले राम्रो खेल्यो, प्रहरीका प्रशिक्षक कटुवालले भन्नुभयो, हाम्रा केहीले राम्रो खेले पनि सबैले राम्रो खेल्न सकेनन् । म आज खेलप्रति सन्तुष्ट छैन ।’ प्रहरीका रक्षकले आफ्नो क्षेत्रमा बल होल्ड गरेर खेल्दा फाउल भएर दुर्भाग्य भएको कटुवालको भनाई थियो । क्याप्टेन जुमानु राईले पाएका धेरै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हारेको बताउनुभयो ।
 
रुपन्देहीका प्रशिक्षक दायाराम सापकोटाले पाएको दुई वटा राम्रा अवसरलाई गोलमा परिणत गर्न सक्नुले नै जित हासिल भएको बताउनुभयो । क्याप्टेन दिलित क्षेत्रीले खेलाडीहरुले पहिलो दिन भन्दा पनि आज मेहनत गरेर खेलेको बताउनुभयो ।
 
 
अब बिहीबार उपाधीका लागि रुपन्देही–११ र संकटाका बीचमा खेल हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।