समाचार

सशस्त्र प्रहरीलाई पाखा लगाउदै संकटा सेमिफाइनलमा

 
नेपालगंज : शनिबार २८ फागुन २०७३ / नेपालगंजमा जारी दोस्रो टुबोर्ग नेपालगंज गोल्डकपको सेमिफाइनलमा संकटा क्लव पुगेको छ । सशस्त्र प्रहरी (एपीएफ) लाई २–१ गोलले पाखा लगाउदै संकटा सेमिफाइनलमा पुगेको हो ।
 
खेलमा पहिलो गोल भने एपीएफले गरेको थियो । ५५ मिनेटमा श्याम नेपालीले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । गोल खाएपछि आक्रमक खेलेको संकटाले ७२ मिनेटमा रवि सिलवाल र ७६ मिनेटमा राज पौडेलको गोलले अग्रता लिएको थियो । त्यसपछि दुवै पक्षबाट आक्रमक खेल भएपनि गोल हुन सकेन ।
 
एपीएफले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको थियो । संकटाले यो वर्ष सशस्त्रलाई निरन्तर हराएको छ । सशस्त्रका चार जना खेलाडी राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा रहेकाले नेपालगंज आउन पाएनन् ।
 
एपीएफका प्रशिक्षक कुमार थापाले पछिल्ला खेलमा संकटालाई जित्न नसक्दा दबाब बढेको बताउनुभयो । उहाँले खेलाडीहरुले अगाडि पाएको बल पछाडी धेरै पास खेल्दा आफ्नो चित्त नबुझेको बताउनुभयो । क्याप्टेन मिलन राईले एक गोलले अग्रता लिएपनि बसलाई होल्ड गरेर खेल्न नसक्दा पराजित हुनु परेको बताउनुभयो ।
 
 
संकटाका प्रशिक्षक सल्यान खड्गीले धेरै खेलाडी घाइते हुँदा सोचेजस्तो खेल खेल्न नसकेको बताउनुभयो । ‘मैदान नराम्रो भएकाले स्तरीय खेल पस्किन सकेनौ, खड्गीले भन्नुभयो, पाएको मौका सदुपयोग गर्न नसक्दा धेरै गोल हुन सकेन ।’
 
शनिबारको खेलमा संकटाका राज पौडेल म्यान अफ द म्याच भए । उनले एक थान मोवाइल पुरस्कार पाए । प्रतियोगितामा संकटाका प्याट्रिक जैन र अमित तामाङले पहेलो कार्ड पाएका थिए । संकटाले अब फाइनल पुग्नका लागि सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । आइतबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीचमा हुने बाँके जिल्ला फुटबल संघले जनाएको छ । यो खेल जित्नेले सेमिफाइनलमा प्रहरीको सामना गर्नेछ ।
 
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको दोस्रो टुबोर्ग गोल्डकप विजेताले ५ लाख रुपैया पुरस्कार पाउने छन् । शुक्रबार र शनिबार बन्दले प्रभाव पारेपनि रंगशालामा दर्शकको उपस्थिति बढेको छ । शनिबार रंगशालाको प्याराफिट भरिएको थियो । संकटा र एपीएफको आक्रमक खेलको दर्शकले मज्जा लिएका थिए । प्याराफिटमा खेलमा एकोहोरो हुटिङ आएको थियो ।
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal