समाचार

नेपालगंज गोल्डकप शुरु : सुदूरपश्चिम सेमिफाइनलमा

 
नेपालगंज : विहिबार २६ फागुन २०७३ / नेपालगंजमा दोस्रो टुबोर्ग नेपालगंज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । गोल्डकपको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्नु भएको थियो । पाँच लाख धनराशीको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । साविक विजेता सुदूरपश्चिमले दिल्ली युनाइटेडलाई १–० गोलले पराजित गरेको हो ।
 
तीनजना विदेशी खेलाडी उतारेको सुदूरपश्चिमले २२ औं मिनेटमा अग्रता लिएको थियो । एरोनले गरेको गोल नै निर्णायक भएपछि सुदूरपश्चिमले सेमिफाइनल यात्र तय गरेको हो । अब सुदूरपश्चिमले फाइनलमा पुग्नका लागि संकटा र सशस्त्र प्रहरीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
 
विदेशी खेलाडीसँग तालमेल नमिल्दा सुदूरपश्चिमले धेरै गोल गर्न सकेको थिएन । दिल्लीले राम्रो गोल गर्ने अवसर नै पाएन । नकआउट प्रतियोगिता भएकाले दुवै तर्फका खेलाडीले आक्रमक खेल खेलेका थिए । खेलमा कार्डको वर्षा नै भयो । दुवैतर्फ गरी सात वटा पहेलो कार्ड देखाइएको थियो । सुदूरपश्चिमका ५ र दिल्लीका २ जनाले पहेलो कार्ड पाएका थिए ।
 
सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले खेल जिते पनि खेलाडीले सोचेजस्तो खेल खेल्न नसकेको बताउनुभयो । पहिलो पटक उतारेको विदेशी खेलाडीसँग तालमेल नमिलेको उहाँले बताउनुभयो । ‘हाम्रो फरवार्डलाइनमा अलि तालमेल मिलेन, दिल्लीको र क्षापंक्ति पनि बलियो थियो, प्रशिक्षक चन्दले भन्नुभयो, आगामी दिनमा तालमेल मिलाउँछौं । क्याप्टेन प्रणय अन्जानले विदेशी खेलाडीसँग मिलेर खेल्दा हल्का नर्मस भएको बताउनुभयो । 
 
दिल्लीका प्रशिक्षक अनसुल कटियारले आफ्नो टीमले राम्रो खेलेको तर मौकाको पाउदा सदुपयोग गर्न नसकेको बताउनुभयो । क्याप्टेन डन लेप्चाले सोचेजस्तो खेल प्रदर्शन गर्न नसकेको बताउनुभयो । भर्खरै भारतमा सेकेन्ड डिभिजनको आइलिग खेलेर आएको र निरन्तरको खेलको थकाईले गर्दा टीम पराजित भएको क्याप्टेन लेप्चाले बताउनुभयो ।  
 
पहिलो खेलको म्यान अफ द म्याच दिल्ली युनाइटेडका क्याप्टेन डन लेप्चा भएका थिए । उनलाई लेनेभो मोबाइल पुरस्कार दिइयो । सुदूरपश्चिमले अब सेमिफाइनलमा संकटा र सशस्त्र प्रहरीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार, शुक्रबार नेपालगंज–११ र नेपाल प्रहरीका बीचमा खेल हुनेछ ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal