समाचार

भाईराजा क्रिकेट प्रतियोगितामा नेपाल टाईगर सेमिफाइनलमा प्रवेश

 
नेपालगंज : मगंलवार २४ फागुन २०७३ / नेपालगंजमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाईराजा स्मृति क्रिकेट प्रतियोगितामा नेपाल टाईगर विजयी भएको छ । आज नेपालगन्जको मंगल प्रसाद क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल टाईगरले टिकापुर क्रिकेट क्लबलाई ९७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । 
 
टस जितेर ब्याटिङ रोजेको टाईगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । जसमा अमर सिंह रौटेलाको ४२ रन तथा योगेन्द्र सिंह कार्कीको ३५ रनको योगदान रहेको थियो । टिकापुरका सुभास सिंह ठकुरीले ३ रकिन रानाले २ तथा रुमेश गरुङले २ विकेट लिनुभयो । 
 
जवाफमा १ सय ६६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको टिकापुरले १५.१ ओभरमा आफ्नो सम्पुर्ण विकेट गुमाउँदै ६८ रन मात्र बनाएपछि ९७ रनले पराजय स्वीकार्न बाध्य भयो । टिकापुरका सारिन श्रेष्ठले १७ रन तथा सुभास सिंहले १३ रन बनाउनुभयो । टाईगरका अमर सिंह रौटेलाले ३ विकेट तथा अजय साहनी र नासिर अन्सारीले क्रमस २÷२ लिन सफल हुनुभयो । 
 
भोली पहिलो सेमिफाईनल खेल जगुवार स्पोर्टस क्लब र रोयल स्पोर्टस क्लब बीच हुने अयोजकले जनाएको छ । सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको प्रतियोगिता गत २१ गतेबाट सुरु भएको हो । 
 
नकआउट प्रणालीमा संचालन भईरहेको प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक जावेद अहमदले जानकारी दिनुभयो ।
 
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal