समाचार

भाइराजा स्मृति क्रिकेट प्रतियोगिता नेपालगन्जमा सुरु

 
नेपालगन्ज : शनिबार २१ फागुन २०७३ / स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता आजदेखि नेपालगन्जमा सुरु भएको छ । आज एक समारोहका बीच सांसद मैकुलाल बाल्मिकिले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले बलिङ गर्दै प्रतियोगिताको उदघाटन गर्नुभयो । 
 
उदघाटन खेलमा युनाईटेड भिजन कोहलपुरले घरवारी टोल युवा क्लबलाई ५ रनले पराजित गर्न सफल भयो । टस जितेर पहिलो ब्याटिङ रोजेको युनाईटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । जसमा संदीप नेपालीको ३६ रन, सागर शाहीको २६ रन र सुजित आचार्यको २० रनको योगदान रहेको थियो । घरवारी टोलका सौरभ पाण्डेले ३ तथा अमर श्रेष्ठले २ विकेट लिनुभयो । प्रतिउत्तरमा १ सय ८७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको घरवारी टोलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएपछि ५ रनको झिनो अन्तरले खेल गुमाउन पुग्यो । 
 
घरवारी टोलका म्यान अफ म्याच घोषित सितांसु पाण्डेले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ६९ रन बनाउनुभएको थियो भने अरमेश सोनी र सिद्धार्थ थापाले क्रमस २३ र २० रन बनाउनुभएको थियो । युनाईटेडका मनोज केसीले २, सुनील खड्काले १ तथा प्रवेज खानले १ विकेट लिना सफल हुनुभयो । 
सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ । विगत २०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता विशेष कारणवस निरन्तर संचालन हुन नसकेपनि अवदेखि निरन्तर संचालन हुने प्रचार प्रसार संयोजक जावेद अहमदले जानकारी दिनु भएको छ । 
 
नेपालगन्जको मंगलप्रसाद उच्चमाविमा सुरु हुने क्रिकेट प्रतियोगितामा कुल ३ लाख ५८ हजार २ सय खर्च हुने बताइएको छ । नकआउट प्रणालीमा संचालन हुने प्रतियोगिताको विजेता टिमलाई  ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिनुभयो ।