समाचार

चुनावी सुरक्षामा केन्द्रित नेपाल भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक

 
रुबरु ताजा खबर : शुक्रबार ७ माघ २०७३ / भारतीय क्षेत्रमा निर्वाचनको तयारी तीब्र रुपमा अघि बढि रहेका बेला नेपाल भारत सुरक्षा अधिकारीहरु एकै स्थानमा चुनावी सुरक्षा योजना बारे छलफल अघि बढाएका छन् ।
 
भारत बहराइच जिल्लाको एसएसबी मुख्यालय अगैयामा भारत नेपाल संयुक्त सीमा समन्वय सुरक्षा बैठकमा भारतीय अधिकारीहरुले सिमापारबाट हुन सक्ने अपराधलाई निस्तेज गर्न दुबै देशका सुरक्षा अधिकारीहरु चनाखो हुनु पर्ने सुझाव दिएका छन् ।
 
विधानसभा सामान्य निर्वाचनको परिप्रेक्ष्यमा भारत नेपाल संयुक्त सीमा समन्वय समितिको ४७ औं बैठकबाट सुरक्षा रणनीति तय गर्ने बारे विचार विमर्श गरिएको छ ।
 
सीमा सुरक्षा बलको छैठौं बटालियनको मुख्यालय अगैया नानपारा स्थित कतर्निया ब्लाकमा आयोजित बैठकमा उत्तर प्रदेशसंग सीमाना जोडिएका बाँके, बर्दिया, दाङ्ग र कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भारतका श्रावस्ती, बहराईच र बलरामपुर जिल्लाका डिष्ट्रिक मजिस्ट्रेडका साथै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । 
 
बैठकको शुभारम्भ गर्दै बहराइचका जिल्ला अधिकारी अभयले पछिल्लो बैठकमा भएको सुरक्षा योजनाहरु सफल भएको र आगामी योजना सफल बनाउन सबै तर्फबाट प्रयास ुनु पर्नेमा जोड दिए । ‘मुख्य नाका बाहेक आवागमन हुन सक्ने सम्भावित स्थानहरुमा दुबै देशका सुरक्षा अधिकारीले संयुक्त रुपमा चौकसी बढाउने बैठकमा सहमति भएको छ’, सुरक्षा निकट श्रोतले भन्यो, ‘सिमानामा मदिरा र हतियार माथि विशेष निगरानी रहनेछ ।’ 
 
आइजी जोन गोरखपुरका मोहित अग्रवाल र आयुक्त देवीपाटन मण्डलका सुधीर दीक्षितले भारत र नेपाल पक्षका अधिकारीहरुलाई सुझाव दिँदै मदिरा माथि विशेष निगरानी बढाउन बताएका छन् ।
 
बैठकमा बाँकेमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, बाँकेका डिएसपी सरोज पौडेल, बर्दियाका बीबी बोहरा, कपिलवस्तुका भोजजंग शाह, दाङ्गका एसपी एपीएफ महेन्द्र विक्रम थापा, बर्दियाका तारा दत्त पन्थ लगायतको सहभागिता रहेको थियो ।