समाचार

एटा र फर्रुखाबाद सडक दुर्घटनामा १९ स्कुले बालबालिकाको मृत्यु, ४६ घाइते

 
भारत : बिहीबार ६ माघ २०७३ / उत्तरप्रदेशको एटामा बिहीबार बिहान भएको सडक दुर्घटनामा १९ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् ।
 
त्यस्तै एटासंगै सटेको अर्को जिल्ला फर्रुखाबादमा पनि स्कुलवैनलाई डीसीएमले ठक्कर दिदा आधा दर्जन स्कुले बालबालिका घाइते भएका छन् ।
 
यो दुर्घटना एटाको अलीगञ्ज रोडमा भएको हो । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको हो ।
 
दुर्घटना यति भयानक थियो कि बसको छत नै उडेको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइन्छ ।
 
सूचना पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो । बस बच्चालाई लिएर स्कुल जाँदै थियो । जाडो मौसममा अन्य सबै बिद्यालय बन्द भएपनि यस बिद्यालय भने खुलेको थियो ।