समाचार

लिबियाको यात्रुवाहक विमान अपहरण, सबै यात्रु रिहा

 
शुक्रबार ८ पुष २०७३ / अपहरणमा परेको लिबियन विमानका सबै यात्रु शकुशल रिहा भएका छन् । चालक दलका सदस्यसहित ११८ जना सवार अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो ।  
 
अपहरणको आशंका गरिएको विमान माल्टा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरियो । अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले । माल्टा सरकारले अपहरणकारीसँग वार्ता थाल्यो । त्यसक्रममा अपहरणकारीले यात्रुहरुलाई क्रमशः रिहा गरे । दुई अपहरणकारीले भने माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।
 
सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो । सबै यात्रुसहित चालक दलका केही सदस्य रिहा भए ।
 
अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा यात्रुहरुलाई छाडियो खुलेन । केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए ।
 
विमानमा एकजना वा दुई जना अपहरणकारी थिए भन्ने स्पष्ट भैसकेको छैन । तर मल्टा अधिकारीहरुले विमानसंग सम्पर्क गर्दा तिनीहरुलाई निश्चित मागहरु पूरा गरेमा यात्रुहरुलाई सकुशल जान दिने बताइएको थियो । अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।
©Copyright 2016 Radio Rubaru FM 104.5 MHz. All Rights Reserved. Powered By: i-Tech Nepal