समाचार

इण्डो–नेपालको कृषि उत्पादन हाटबजारबाट बिक्री गर्ने तयारी

 
यदुराज मिश्र नेपालगंज : विहीवार ०७ पुष २०७३ / कृषि मन्त्रालयका सचिव डा.सुरेश पोख्रेलले नेपाली तथा भारतीय कृषिजन्य उत्पादन एउटै ठाउँमा उपलब्ध गराउन संयुक्त हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको खुलासा गरेका छन् ।
 
जिल्ला कृषि विकास कार्यालय बाँकेले बिहीवार नेपालगंजमा गरेको साना सिंचाई सामग्री हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । त्यसका लागि सम्भाव्यता अध्ययन भईरहेको जानकारी दिँदै सचिव पोख्रेलले संयुक्त हाटबजार उपलब्ध गराइने कृषिजन्य बस्तुबाट उपभोक्तालाई सहज हुनुका साथै कृषकलाई पनि बिक्रीका लागि भौतारिनु नपर्ने बताए ।
 
उनले त्यसका लागि भारतिय पक्षबाट सम्भावित अध्ययन शुरु भईसकेको जानकारी दिए । सचिव पोख्रेलले भने, ‘हाटबजार लगाउने ठाउँको पहिचानका लागि विभिन्न जिल्लामा अध्ययन शुरु भईसकेको छ ।’उनले बाँकेमा पनि त्यसको सम्भावनाबारे कार्ययोजना पेश गर्न कृषि विकास कार्यालया बाँकेलाई निर्देशन दिए । 
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको भन्दै सचिव पोख्रेलले यसमा बिशेष ध्यान पु¥याउन आग्रह गरे । बाँकेका ५० किसानलाई साना सिंचाई सामग्री वितरण गर्ने कार्यक्रम रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । 
 
२९ प्रतिशत मात्र खेती योग्य सिंचित क्षेत्र रहेको बाँकेमा सिंचाई क्षेत्र बढाउन र उत्पादन बृृद्वि गर्ने उद्देश्यले कृषि सचिव पोख्रलेले ८ वटा कृषक समूहका कृषकहरुलाई पम्पसेटलगायतका सामग्री हस्तान्तरण गरेका थिए ।
 
कार्यक्रममा मन्त्रालयका सहसचिव काशीराम दहाल, महानिर्देशक युवकध्वज जिसी, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरी प्याकुरेल, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी, साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना प्रमुख गोकर्ण अर्याल, विभिन्न कृषक समूहका पदाधिकारी लगायतको उपस्थिति थियो ।