समाचार

कृषि कार्यालयद्वारा मिनि टिलर हस्तान्तरण

 
जुम्ला : बुधबार ०६ पुष २०७३ / जिल्ला कृषि विकास कार्यालय जुम्लाले चार कृषक समुहलाई मिनि टिलर हस्तान्तरण गरेको छ । कृषि कार्यालयले चन्दननाथ नगरपालिका २ आचार्यगाउँको प्रगतिशील कृषक समुह, चन्दननाथ नगरपालिका ४ बुड्थापागाउँको कृषक उत्पादक समुह, लाम्रा ४ र ५ को सृजनात्मक कृषक फलफूल तरकारी समुह र तातोपानी ३ बाईराँका गाउँको प्रगतिशील महिला कृषकलाई मिनि टिलर हस्तान्तरण गरेको छ ।
कृषि कार्यालयमा दर्ता भएका किसान समुहले माग गरेकाले मिनि टिलर उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिएका हुन् । एउटा टिलरको ८० हजार मूल्य पर्ने उनले बताएका छन् ।
यसमा टिलर खरिद गर्दा ७५ प्रतिशत कृषिको अनुदान र २५ प्रतिशत किसानले लगानी गरेको उनको भनाई छ । कृषकको स्याउ बगैंचामा खनजोत र गोडमेल गर्ने उद्देश्यले मिनि टिलर चालू आ.व.मै किसान समुहलाई उपलब्ध गराईएको उनले बताए ।
उनले यसले समय बचाउने र लागत घटाउने जानकारी दिए। आधुनिक मेसिनले खेत जोत्न पाउँदा साह्रै खुशी लागेको प्रगतिशील कृषक समुहकी सदस्य राममाया खत्रीले बताइन् ।